आर्थिक उपार्जनको माध्यम बन्दै कफी खेती

रासस

विहीबार, २४ पुस २०८२, १० : ५६
आर्थिक उपार्जनको माध्यम बन्दै कफी खेती

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफी खेती गर्दै आएका छन् । उनीसँगै गाउँका अरु किसानले पनि कफी खेतीलाई आर्थिक उपार्जनको माध्यम बनाएका छन् ।

अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न पाइन्छ । मकै, कोदोलगायत खेतीभन्दा कफीबाट आम्दानी बढी हुने भएकाले थोकरले कफी खेतीलाई निरन्तरता दिँदै आएको बताए ।

उनी अहिले कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त छन् । यस वर्ष करिब रु २५ लाखसम्म आम्दानी हुने अनुमान गरिएको थोकरले उल्लेख गरे । “गत वर्षभन्दा यो वर्ष प्रशस्त मूल्य पाइएको छ”, उनले भने, “खाना, लाउन र छोराछोरीलाई पढाउन सबै खर्च व्यवस्थापन हुँदै आएको छ ।” गाउँमा थोकरको परिवारले पहिलोपटक व्यावसायिक कफी खेती सुरु गरेको हो ।

सोही ठाउँका ज्ञानबहादुर बोम्जनले छ वर्षदेखि व्यावसायिक कफी खेती गर्दै आएका छन्। “कोदो, मकै लगाउँदा वर्षभरि खट्नुपर्छ, कफी खेतीमा तीन महिना खट्दा लाखौँ आम्दानी हुन्छ”, उनले भने, “छ रोपनी जग्गामा करिब दुई हजार बोट रोपेर त्यसबाट आम्दानी लिँदै आएको छु ।” गत वर्ष रु पाँच लाख आम्दानी गरेको जनाउँदै उहाँले यस वर्ष करिब रु १० लाख आम्दानी हुने बताए।

महाभारतको महादेवराटका पातली माया घिसिङले धान रोप्न छोडेर कफी खेती गरेकी छिन् । दश वर्षदेखि खेती गर्दै आएकी उनले धानभन्दा दोब्बर आम्दानी हुने भएकाले कफी खेतीलाई प्राथमिकता दिएको बताए । “पहिलापहिला मकै, कोदो रोप्दा खानालाई मात्रै ठिक हुन्थ्यो । छोराछोरीलाई पढाउन ऋण लिनुपर्ने अवस्था थियो । त्यसलाई छोडेर कफी खेती गर्न थालेपछि खर्च कटाएर मनग्य आम्दानी हुन्छ”, उनले भनिन् । उनका अनुसार वर्षको करिब एक हजार ५०० किलोसम्म कफी उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस