पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०८२, १० : ४८
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र आफ्नो विपक्षमा मत राख्ने र असहमति जनाउने नेताहरुलाई टिकटमै बन्देज लगाउने तयारी थालेका छन् ।

पार्टीको एघारौं महाधिवेशनमा उनी इतर समुहका प्रतिस्पर्धी नेताहरुलाई आगामी फागुन २१ को चुनावमा टिकट नै नदिने रणनीतिमा ओली समुह लागेको आरोप इतर समुहका नेताहरुले लगाउन थालेका छन् । 

पार्टी केन्द्रले क्षेत्रीय कमिटिलाई एक महिलासहित ३ जना आंकाक्षी उम्मेदवारको नाम प्रदेश कमिटि हुँदै केन्द्रमा सिफारिस पठाउन भनेपनि आफु पक्षिय नेताहरुको नाम जवजस्ती एकल सिफारिसमा पार्ने तर इतर पक्षका नेताहरुको नाम भने सकभर सिफारिसमै रोक्ने, सिफारिस गर्ने पर्ने भएपनि एकल सिफारिस हुन नदिने रणनीति ओली पक्षले बनाएको छ । 

सोही आधारमा कतिपय इतर पक्षका नेताहरु सिफारिसमा पर्नसमेत बन्चित गरिएको छ । शंकर पोखरेलसँग महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे, सचिवमा प्रतिस्पर्धा गरेकी रचना खड्का लगायत नेताहरुको नाम सिफारिस गर्ने रोकिएको छ । 

त्यस्तै एकल सिफारिसमा परेका गोकुल बास्कोटाका सवालमा भने विवाद निकालेर थप नाम सिफारिस गर्न निर्देशन गरिएको छ । पार्टीका अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भटट, सचिव महेश बस्नेत लगायत पदाधिकारीको नाम क्षेत्रबाट एकल सिफारिस भईरहँदा इतर पक्षका दुई पदाधिकारी जितेका गोकर्ण विष्ट र योगेश भटटराईका सवालमा भने एकल सिफारिस हुनबाट रोकिएको छ ।

गोकर्ण ष्टिको गुल्मी २ मा रामकुमारी झाँक्र्री लगायत नेताहरुलाई पनि सिफारिसमा पारेर एकल हुनबाट रोकिएको छ । गुल्मीको अर्काे क्षेत्रमा ओली पक्षिय नेता प्रदीप ज्ञवाली एकल सिफारिसमा परिरहँदा अर्काे क्षेत्रमा उपाध्यक्ष विष्टलाई भने एकल सिफारिस हुनबाट रोकिएको छ । ताप्लेजुङमा उपमहासचिव योगेश भटटराईको क्षेत्रमा पनि त्यस्तै गरिएको छ । उनलाई त्यहाँबाट एकल सिफारिस हुन दिइएको छैन । 

एमालेमा अहिलेसम्म झण्डै तीन दर्जन नेताहरुको नाम एकल सिफारिस भएको छ । जसमा ओली पक्षका नेतामात्रै छन् । कँही पनि इश्वर पोखरेल तथा विधा भण्डारी पक्षका नेताहरुको नाम एकल सिफारिस हुन दिइएको छैन । 

अझ इश्वर पोखरेल, सुरेन्द्र पाण्डे, रचना खड्का लगायतको नाम नै सिफारिस हुनबाट रोक्ने रणनीतिमा ओली पक्ष प्रष्टै देखिएको छ । इश्वर पोखरेललाई समानुपातिक सूचीमा राख्न इतर पक्षका नेताहरुले एमाले सचिवालय बैठकमा जोड गरेका थिए । तर उनलाई ओलीले समानुपातिक सूचीम राखेनन् । उनलाई काठमाडौं ५ बाट समेत प्रत्यक्ष उम्मेदवार बन्नबाट रोक्ने योजनामा यसपटक ओली छन् । 

सुरेन्द्र पाण्डे चितवन १ बाट सिफारिस हुन चाहान्थे । तर त्यहाँ उनको नाम सिफारिस नै भएन । ६ जनाको नाम सिफारिस पटक पटक त्यही क्षेत्रबाट चुनाव जितेका र गत प्रतिनिधिसभा चुनावमा त्यहाँ रास्वपा उम्मेदवारसँग पराजित हुन पुगेका पाण्डे सिफारिसमै परेनन् । 

पार्टीका नेताहरूसँगको कुराकानीमा नेता पाण्डेले जे राम्रो हुन्छ त्यहीँ गर्नुस्, सबैभन्दा धेरै भोट ल्याउन सक्ने मान्छेलाई उम्मेदबार बनाउनुस् भनेर आफु नेपालगञ्ज पुगेका थिए । तर एमाले जिल्ला अध्यक्ष कमलराज पाठक लगायतले उनको नाम सिफारिस गर्ने नचाहेर आफुसहितका नेताहरुको नाम समावेश गरेर सिफारिस गरेको छ । पाण्डेले इच्छा नै ब्यक्त नगरेको कारण सिफारिस नगरिएको जिकिर जिल्ला अध्यक्ष पाठकको छ । पाठकले भने, ‘उहाँ आफैंले इच्छा नगरेको र क्षेत्रीय कमिटीलाई पनि उम्मेदवार हुने बारेमा केही भन्नुभएन । त्यसैकारण उहाँ (पाण्डे)को नाम सिफारिस गरिएन ।’

पाण्डे लगायत इतर पक्षका नेताहरुका सवालमा आफुले तल्लो तहका कमिटिमा नाम सिफरस गरिदिन आग्रह गरिदिनुपर्ने जस्तो प्रावधान राखिएको छ । जवकी ओली, विष्णु पौडेल, शंकर पोखरेल लगायत नेताहरुका सवालमा उनीहरुले आफनो नाम सिफारिस गर्न नभनेपनि क्षेत्रीय कमिटिबाट सिफारिस गरिएको छ । तर पाण्डे लगायत इतर समुहका नेताहरुलाई भने आकांक्षा राखेर दावी नै नगरेको कारण सिफारिस नगरिएको तर्क गरिएको छ । 

‘मैले मेरो नाम सिफारिस गर्नुस् भनेर जिल्ला कमिटी वा क्षेत्रीय कमिटीलाई भन्नुपर्छ जस्तो लाग्दैन, एमालेका ठूला नेताहरूले पनि मेरो नाम सिफारिस गर्नुस् भनेर कसैले भनेको छ जस्तो मलाई लाग्दैन ।’ सिफारिसमै आफनो नाम नपरेपछि सुरेन्द्र पाण्डेले भने, ‘ पार्टीले बुझ्ने कुरा हो, जिल्ला अध्यक्षले जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्ने कुरा हो भन्ने मेरो धारणा छ ।’

त्यहाँबाट जिल्ला अध्यक्ष कमलराज पाठक,एमाले बागमती प्रदेश उपाध्यक्ष तथा पूर्वप्रदेश मन्त्री दावा दोर्जे लामा, कृष्णलाल चौधरी, किशोरचन्द्र खनाल, भरत भण्डारी र लक्ष्मी कोइराला पोखरेल रहेका छन् ।

त्यस्तै, दोलखामा प्रत्यक्ष चुनाव उठ्न चाहान्थिन सचिव उठेकी एमाले नेतृ रचना खडका । त्यहाँ उनले आफनो दावी क्षेत्रीय कमिटि र जिल्ला कमिटिका नेताहरुसँग राखेकी पनि थिइन् । बागमती प्रदेश सभाका पूर्वमन्त्री समेत रहेकी खड्काले दावी प्रस्तुत गरेपनि जर्वजस्त दोलखामा ओली निकट नेता पार्वत गुरुङको नाम सिफारिस गरिएको छ ।

यो सिफारिस जर्वजस्त विधि मिचिएर गरेको भन्दै ओली पक्षका नेताहरुकै बीचमा पनि विवाद निम्तेको छ । त्यहाँ ओली पक्षकै बालकृष्ण सिवाकोटी पनि चुनाव लड्न चाहान्थे । गत चुनावमा उनी माओवादी उम्मेदवारसँग १०४ मतले मात्र परिाजित भएका थिए । तर अहिले उनलाई रोक्ने योजनामा पावर्तले जर्वजस्त आफनो नाम मात्र एकल सिफारिस गर्न लगाए । 

पार्वत गुरुङलाई एकल उम्मेदवार सिफारिस गरेपछि दोलखा एमालेका उपसचिव हरि ओलीसहितले पार्टीबाटै राजीनामा घोषणा गरेका छन् । बालकृष्ण सिवाकोटीले पनि बक्तब्य नै जारी गरेर असन्तुष्टि जनाएका छन् । 

एमालेमा आफु पक्षीय नेताहरुको जर्वजस्ती एकल सिफारिस गराउने तर पार्टीमा विधि, विधानको वकालत गरेर ओलीको कार्यशैलीमा प्रश्न उठाईरहेका नेताहरुलाई भने टिकटमै कैची चलाउने रणनीति बनाएपछि एमालेभित्र असन्तुष्टि भित्रभित्र भूसको आगो झै सल्किन थालेको छ ।

प्रतिक्रिया दिनुहोस