काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०८२, ०८ : ५१
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि आज साँझ मतदान हुँदैछ । नेतृत्व हत्याउन केपी शर्मा ओली र इश्वर पोखरेल चुनावी मैदानमा छन् । ओली तेस्रो कार्यकालका लागि फेरि अध्यक्ष बन्ने दौडमा निस्किएका हुन् भने ओलीलाई विस्थापित गरेर नेतृत्वमा पुग्ने योजनामा पोखरेल छन् । 

ओलीलाई आफनो टिमका नेताहरुको ब्यवस्थापन गर्न निक्कै कठिन थियो । त्यही अनुसार, उनले सचिवालय बैठकमा विधान महाधिवेशनले गरेको निर्णयमा तलमाथी नगर्ने भनेपनि लगतै केन्द्रीय समितिबाट बहुमतका आधारमा आफुलाई सहज हुनेगरी पदाधिकारी र केन्द्रीय समितिको संख्या थप गरे । तर पनि उनले आफनो टिम मिलाउन सकेनन । 

ओलीलाई सधैभरी साथ दिईरहेका प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी लगायत नेताहरुलाई ओलीले चित्त बुझाउन सकेनन । दुवै पार्टी महासचिवको दावेदार थिए । ज्ञवाली उपमहासचिव र अधिकारी संगठन विभाग प्रमुख थिए । ओलीले आफ्नै प्रिय पात्र शंकर पोखरेललाई नै महासचिव दोहोरयाउने गरी उम्मेदवार बनाए । तर प्रदीपलाई उपाध्यक्ष र काशीलाई केन्द्रीय अनुशासन आयोगको अध्यक्ष बनाउन चाहे । तर दुवैले ओलीले थमाएको पद लिन अश्वीकार गरे । 

प्रदीपले उपाध्यक्षमा उम्मेदवारी दिएनन्, काशीनाथले पनि केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा उम्मेदवारी दिएनन । प्रदीपले भृकुटीमण्डपस्थित बन्दशत्रमा पुगेर केन्द्रीय सदस्यको उम्मेदवारी दिएर रुदैं घर फर्किएका थिए । त्यसपछि ओलीलाई लाग्यो – अब गडबढ हुन सक्छ । आफु जितेपनि महासचिव शंकर पोखरेल चुनाव हार्ने डरमा ओली परे । उनले तत्काल प्रदीप ज्ञवालीलाई फकाउन विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङलाई परिचालित गरे । 

प्रदीपसँग दुवै नेताले उनको निवासमै पुगेर सम्वाद गरे । परिस्थिती जटिल बन्ने भयो, तपाईंले टिममा उपाध्यक्ष पद स्वीकार गर्नु राम्रो हुन्थ्यो, भएन, अव कसरी सम्मानजनक बनाउन सकिन्छ, अझै केही सोचौला, अहिले परिस्थिती बुझनुस्, ओलीको सन्देश बोकेर प्रदीप भेटन पुगेका विष्णु र पृथ्वीसुब्बाले भनेका थिए । 

तर पनि प्रदीपले मन बुझाउन सकेनन । उनले दुई नेतासँग पनि निक्कै चित्त दुखाईरहे । ‘जीन्दगीभर ओलीलाई साथ दिइयो, तर उहाँ (ओली)ले कहिल्यै आफ्नो बाहेक उहाँलाई साथ दिने साथीहरुका बारेमा सोच्नुभएन, उहाँलाई एकै ब्यक्ति भए पुग्ने जस्तो ब्यवहार भयो,’ प्रदीपले नेताहरुसँग मनको बह पोखे । 

त्यसपछि नेताहरु प्रदीपलाई सम्झाईबुझाई फर्केका थिए । साँझ अबेर ओलीले ज्ञवालीसँग टेलिफोन सम्वाद गरेको ज्ञवाली निकट स्रोतले सफलखबरलाई बताए । ‘अहिले मेरो बाध्यता बुझिदिनुस्, तपाईंलाई अन्याय म गर्नेछैन,’ ओलीले ज्ञवालीलाई टेलिफोनमा भनेका थिए । 

‘उपाध्यक्ष अश्वीकार गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा अप््ठयारो परयो, तपाईले विषय प्रष्ट पारेर बोलिदिनुस् – म तपाईं (ओली)कै टिममा छु । ओली टिमलाई मतदान गर्न आह्रवान गरिदिनुस् ’ ओलीले प्रदीपसँग आग्रह गरे । त्यसपछि नै हो प्रदीपले मंगलबार विहानै सामाजिक सन्जालमा ओलीलाई जिताउन आह्रवानसहितको स्टाटस राखेको । 

ओलीको नेतृत्वमा रहेको टिमलाई शानदार मतका साथ विजयी बनाउन त्यसपछि ज्ञवालीले अपिल गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको स्टाटसमा ज्ञवालीले महाधिवेशनलाई पार्टीको आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन् । उनले यस निर्णायक घडीमा अध्यक्ष ओलीको अगुवाइमा रहेको सम्पूर्ण टिमलाई समर्थन गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।

उता केन्द्रीय अनुशासन आयोगका अध्यक्ष बन्न अश्वीकार गरेका काशीनाथसँग पनि ओलीले त्यस्तै आग्रह सहित टेलिफोन गरेका थिए । काशी संगठन सञ्चालनमा अब्बल मानिन्छन् । उनलाई विच्काउँदा पनि त्यसको असर मतदान प्रक्रियामा देखिने बुझेका ओलीले आफनो बाध्यता बुझिदिन काशीनाथसँग पनि टेलिफोनमा आग्रह गरेका हुन् ।

काशीनाथले भने कुनै पदमा उम्मेदवारी नै दर्ता गराएका छैनन । ओलीका वरिपरि घुमिरहने र लाभका पद लिनेले मात्रै पदाधिकाररुीको उम्मेदवारी बन्न पाएको अवस्थामा अनुशासन आयोगतिर पठाउँदा आफनो अपमान भएको अधिकारीले ठानेको उनी निकट स्रोतले बताएको छ । त्यसपछि उनी ओलीसँग विच्किएका हुन् । जसकाकारण उनले कुनै पदमा उम्मेदवारी नै नदिएका हुन् । 

तर संगठन विभाग हाँकेका कारण उनको निर्वाचन मतदातामा निर्णायक भूमिका हुने देखेपछि ओलीले सोमबार साँझ अधिकारीलाई पनि टेलिफोन गरेको स्रोतले बताएको छ।