एभरेष्ट भेट्रान कपमा युनाइटेडको विजयी सुरुवात

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०८२, ०८ : ३७
एभरेष्ट भेट्रान कपमा युनाइटेडको विजयी सुरुवात

मोरङ । मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगितामा युनाइटेड भेट्रान क्लबले विजयी सुरुवात गरेको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित सोमबार डाँगीहाट रंगशालामा सुरु भएको प्रतियोगितामा चन्द्रगढी भेट्रान क्लबलाई ५–१ गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो ।

खेलको तेस्रौँ मिनेटमा युनाइटेडका महेन्द्र विश्वास खवासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसलगत्तै खेलको आठौँ मिनेटमा युनाइटेडका तेजमान लिम्बूले दोस्रो गोल थप्दै टिमलाई २–० गोलले अघि बढाए ।

खेलको १६औँ मिनेटमा युनाइटेडका निराजन बस्नेतले तेस्रो गोल गरे । पुनः खवासले एक गोल थप्दै व्यक्तिगत रूपमा दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए ।

खेलको ३३औँ मिनेटमा चन्द्रगढीका प्रेमकुमार लिम्बूले एक गोल फर्काउँदै टिमलाई ४–१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५६औँ मिनेटमा युनाइटेडका खवासले ह्याट्रिक गोल गर्दै टिमलाई ५–१ गोलको जित दिलाए । उत्कृष्ट प्रदर्शनका आधारमा खवास म्यान अफ दि म्याच घोषित बनेका छन् ।

एभरेष्ट भेट्रान मोरङको आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस