काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैर राजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल उच्चशिक्षा प्रतिष्ठान (एनएचएफ)ले तिनकुनेस्थित भिएस निकेतनमा आज आयोजना गरेको ‘नेपालीको उच्चशिक्षाका लागि नीतिगत ढाँचा’ विषयक छलफल कार्यक्रममा मन्त्री पुनले विश्वविद्यालयका कुलपति र उपकुलपति पदमा राजनीतिक पहुँचभन्दा योग्यता, इमानदारी र स्वतन्त्र निर्णय क्षमता भएका व्यक्तिको नियुक्ति अनिवार्य हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न राजनीतिक भागबन्डा सबैभन्दा ठूलो बाधक बनेको बताए । उनले भने, “प्रधानमन्त्री कुलपति हुने व्यवस्था रहँदा विश्वविद्यालयमा राजनीतिकरण भएका छन् भन्ने गुनासो सधैँ आइरहेका छन् । विश्वविद्यालय सुधारका लागि अब गैर राजनीतिक र नेतृत्व गर्न सक्ने योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ ।”
हाल नेपालका १८ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था रहेको जनाउँदै मन्त्री पुनले उपकुलपति, रेक्टर, रजिस्ट्रार तथा डिनहरूको नियुक्ति प्रधानमन्त्रीमार्फत हुने भएकाले त्यसमा राजनीतिक भागबन्डा, आफ्नो मान्छे नियुक्त गर्ने प्रवृत्ति मौलाउँदै गएको बताए । “यस्तो अवस्था अन्त्य गर्नका लागि योग्य व्यक्ति नेतृत्वमा आउनुपर्छ । विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान र स्वायत्ततालाई गुणस्तरीय र स्वतन्त्र बनाइनुपर्छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ: मन्त्री पुन
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन
ठोस नतिजा निकाल्ने गरी अघि बढ्न कर्मचारीलाई मन्त्री पुनको निर्देशन