भैरहवा । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल भएको बताएका छन्।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार सफल हुँदै गएको दाबी गरेका हुन्।
जेनजी युवाले भाद्र २३ र २४ गते गरेको प्रदर्शनपश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्रासदिपूर्ण अवस्थालाई पार लगाउन सरकार सफल भएको बताए।
‘अहिले सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ। नत्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव थिएन,’ गृहमन्त्री अर्यालले भने, ‘सुशासन प्रबर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारले पूरा गर्छ।’
उनले सरकारले सुशासन र निर्वाचनलाई मूलमन्त्र मानेर काम गरिरहेको बताए।
‘विभिन्न बहाना गरेर चुनाव हुँदैन भन्ने र यो सरकारले चुनाव गर्न सक्दैन भन्ने कुरा कहीँ कतै सुनिएका छन्। सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ। दिइरहेको छ,’ अर्यालले भने।
उनले वर्तमान सरकार कसैको निगाहामा नबनेको बताए। ‘हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका पनि होइनौँ,’ उनले भने, ‘देशको विशिष्ट अवस्थामा, शून्यतालाई चिर्नुपर्ने परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा हामी सरकारमा आएका हौँ।’
उनले आफूमा कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ नभएको पनि दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव