प्रधानमन्त्री कार्कीको ‘नातावाद बन्द’ को हुंकार... तर आफ्नो सचिवालयमै नातेदारको लाइन !

भाषण सिंहदरबारमा, बेथिति भने आफ्नै टेबलमुनी ?

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०८२, १० : ०६
प्रधानमन्त्री कार्कीको ‘नातावाद बन्द’ को हुंकार... तर आफ्नो सचिवालयमै नातेदारको लाइन !

काठमाडौं । गत असोज २८ गते एउटा समाचार सञ्चारमाध्यमबाट बाहिरियो –मुख्यसचिव एकनारायण अर्यालले छोरीलाई सिधै नेपाल वायुसेवा निगममा ‘कर्पोरेसन डाक्टर’ बनाएर विगत एक वर्ष देखि जागिर खुवाईरहेका छन् । सिंहदरबारका हरेक चोटा-कोठामा यही समाचार सनसनीपूर्ण तरिकाबाट फैलियो ।

अर्याल २०८१ भदौ १३ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटताका कारण बरियता मिच्दै मुख्यसचिव बनेका थिए । त्यसकै केही दिनमै उनकी छोरी डा. अस्मिता अर्यालले नेपाल बायुसेवा निगममा कर्पाेरेसन डाक्टर पदमा सिधै प्रवेश पाइन् । न कुनै विज्ञापन, न कुनै प्रतिस्पर्धा, न कुनै छनोट समिति ।

सुरुमा डा. अस्मितालाई एक वर्षको करार दिइयो । पहिलो वर्षको करार त बहाना मात्रै रहेछ, दोस्रोचोटि त दुई वर्षै थप गरेर नियुक्ति दिइयो, ठ्याक्कै २०८४ असारसम्म । निगमकै ‘आकाश भैरव’ पत्रिकामा डा अस्मिताको नियुक्तिको विषय उल्लेख थियो ।

अझ तत्कालिन कार्यकारी निर्देशकको जागिर थमौतीका लागि अर्यालले पहल लिने र त्यसको बदलामा छोरी अस्मितालाई सिधै नियुक्ति दिलाउने गरी सब काम ‘सेटिङ’ मा भएको खुल्यो । समाचार बाहिरिएसँगै प्रधानमन्त्री कार्कीको कानमा पनि मुख्यसचिवले पद र शक्तिको दुरुपयोग गरी गरेको धन्दाको सूचना पुग्यो ।  

त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा कडा स्वरमा भनिन्, ‘यो बेथिति अब सहिँदैन !’ गत भदौं २३ र २४ को जेनजी आन्दोलनको बलमा कार्की चुनाव गराउने गरी अन्तरिम चुनावी सरकारको प्रधानमन्त्री बनेकी थिइन् । जेनजीहरुले नेपोबेवि, नातेदारहरुको राइदाईका विरुद्द आन्दोलन गरेका थिए । 

त्यस्ता समाचार आएपछि जेनजी विद्रोहकै बलमा प्रधानमन्त्री बनेकी कार्कीको आक्रोश स्वभाविक नै देखिन्थ्यो । उनले कात्तिक १६ मा सिंहदरवरामा नेपाल बायुसेवा निगमका उच्च पदस्थ अधिकारीलाई बोलाइन् ।  त्यहाँ मुख्यसचिव अर्याललाई पनि सँगै राखेर उनले कडा , चर्काे र आक्रोशपूर्ण शैलीमा भनिन्, ‘जेनजीहरूले रगत बगाएर ल्याएको परिवर्तन नातावादका लागि होइन । मनपरी भर्ती ? यो अब सहिँदैन !’

उनले त्यहाँ थप तितो पोख्दै भनिन्, ‘जेनजीहरूले रगत बगाएर ल्याएको परिवर्तन नातावाद र कृपावाद अन्त्यका लागि होइन र रु अवकाशको मुखमा पनि मनपरी भर्ती किन ? यो बेथिति अब सहँदैन ।’ 

त्यही कोठामा मुख्यसचिव एकनारायण अर्याल मौन बसिरहेका थिए । सिंहदरबारको त्यो कक्षभरि गम्भीरता फैलिएको थियो । तर त्यसको ठीक अगाडी कसैले कल्पना गरेन, प्रधानमन्त्रीकै सचिवालयमा पनि उस्तै ‘मनपरी’ भर्ती भइसकेको रहेछ भनेर । जसको अगाडि प्रधानमन्त्री सुशीला कार्कीले ‘नातावाद समाप्त’ को झण्डा उठाइन्, उही झण्डा केही दिनमै आफ्नै टाउकोमै फर्कियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफु सरकारको सचिव सरहको सुविधा लिँदै आफ्नै श्रीमती देखि अन्य नातेदारको नियुक्ति अडडा प्रधानमन्त्रीकै सचिवालय बनाएपछि प्रधानमन्त्री कार्कीकै टाउकोमा नातावादको डान्डा फर्किएको छ । सुशीला कार्की प्रधानमन्त्री बनेको एक सातामै, असोज २ गते, उनले स्वकीय सचिव श्रेष्ठका चार–चार जना नातेदार सचिवालयमा राखिदिए ।

त्यही दिन संगिता श्रेष्ठ – आदर्शकी श्रीमती, स्वकीय सहसचिव (सहसचिव सरह), कमला श्रेष्ठ – नातेदार, स्वकीय सहसचिव, पुनम श्रेष्ठ – नातेदार, प्रशासन सहायक र रविना श्रेष्ठ – नातेदार, प्रशासन सहायकमा नियुक्ति भए । सबै एकै दिन, सबै प्रत्यक्ष निर्णय, सबै नातेदार ! प्रधानमन्त्री कार्कीले सिंहदरबारमै नातावादविरुद्ध भाषण गर्दै गर्दा आफ्नै सचिवालयमा स्वकिय सचिवको नातेदारको भीडलाई नियुक्तिपत्र दिलाईसकेकी थिइन् ।

यो समाचार पनि गोप्य नै थियो । तर आइतबार (मंसिर ७) यो समाचार पनि उसै गरी बाहिरियो, जसरी मुख्यसचिव अर्यालले छोरीलाई नियुक्ति दिलाएका थिए । त्यसपछि भने अव प्रधानमन्त्री कार्कीको सुशासनमाथी नै प्रश्न उठेको छ । कार्कीलाई प्रधानमन्त्री बनाएर कार्कीको उत्तेजक भाषणले जोश बढाएको जेनजी समूह अब ठ्याक्कै उल्टै प्रश्न उठाइरहेको छ, ‘मुख्यसचिवको छोरीलाई हटाउन निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयमै चार–चार जना नातेदार ? यो कुन नैतिकता हो ?’

उनैका समर्थकहरू भनिरहेका छन्, नैतिकता सबैलाई एउटै हुनुपर्छ। प्रधानमन्त्रीले आफैंबाट उदाहरण देखाउनुपर्छ । अब कार्कीले के गर्छिन् ? उनले चाल्ने गतिविधि सवैको चासोको विषय बनेको छ । 

उनका अगाडी अब तीन बाटो छन् । 
पहिलो, स्वकीय सचिव आदर्श श्रेष्ठ र नातेदार सबैलाई हटाउने । उनले बोलेको ‘नातावाद समाप्त’ पार्ने वचन कार्यान्वयन गर्ने यही एक मात्र बलियो विकल्प प्रधानमन्त्रीसँग छ ।

दोस्रो, पूर्ण छानबिन र सार्वजनिक प्रतिवेदन । मुख्यसचिवको मुद्दामा जस्तै, आफ्ना केसमा पनि पारदर्शिता देखाउने । तर तेस्रो, मौन बस्ने । तर यसले प्रधानमन्त्री कार्कीको  नैतिकता, विश्वसनीयता र जेनजीहरूको भरोसा, तीनैलाई ठूलो धक्का दिनेछ ।

त्यसकारण पनि कार्कीको बोली अब उनीमाथी नै फिर्ता आएको छ ‘यो बेथिति अब सहिँदैन ।’ वाक्य अहिले प्रधानमन्त्रीकै कानमा फर्केको छ । मुख्यसचिवको छोरीलाई कारबाही गर्न निर्देशन दिएका प्रधानमन्त्री, अब आफ्नै टिमले गरेका मनपरीका सवालमा किन मौन हुने ? देश हेरेर बसेको छ ।

प्रधानमन्त्री सुशीला कार्की अब के गर्छिन् ? नैतिकता जोगाउँछिन् कि आफ्नै बोलीको भारमा आफू डुब्नेछिन् ?

प्रतिक्रिया दिनुहोस