काठमाडौ । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जर्मनीले आइभोरी कोस्टमाथि २–१ को रोमाञ्चक पुनरागमन जित निकालेको छ । यो जितसँगै जर्मनी विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।
शनिबार राति सम्पन्न समूह ‘ई’ को तनावपूर्ण खेलमा जर्मनीका दुईवटा गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् । पहिलो हाफमा पछि परे पनि जर्मनीले आफ्नो लय गुमाएन र उत्कृष्ट पासिङ गेमको मद्दतले खेलमा फर्कियो । अर्कोतर्फ, पश्चिम अफ्रिकी टोली आइभोरी कोस्टले पनि आक्रामक र गतिशील फुटबल पस्किएको थियो ।
खेलको ६८ औं मिनेटमा उन्दाभले उत्कृष्ट भली प्रहारमार्फत गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याएका थिए । त्यसपछि इन्जुरी समयमा उनले डिफेन्डरलाई छक्काउँदै प्रहार गरेको बल आइभोरी कोस्टका गोलकिपर याहिया फोफानाले रोक्ने कुनै मौका नै पाएनन् । यी भर्सटाइल स्ट्राइकर उन्दाभको पछिल्ला आठ खेलमा यो नवौं गोल हो ।
खेलको अन्तिम क्षणमा आइभोरी कोस्टका साइमन अडिंग्राले गोल गर्ने अवसर पाएका थिए, तर उनले बक्सभित्र प्रहार गर्न सकेनन् । लगत्तै प्रतिआक्रमणमा जर्मनीका नथानियल ब्राउनले प्रहार गरेको प्रहारलाई फोफानाले उत्कृष्ट बचाउ गरे ।
खेलको पहिलो हाफमा यान डियोमान्डेको क्रसमा अमाद डियालोको प्रहार रिवाउन्ड भएर आएपछि फ्रान्कले गोल गर्दै आइभोरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए । विश्वकपमा आइभोरी कोस्टले लगातार सातौं खेलमा गोल गरेको यो पहिलो कीर्तिमान हो ।
टोरन्टोमा जर्मन मूलका झन्डै १ लाखभन्दा बढी मानिसको उपस्थिति रहेकाले जुलियन नागेल्सम्यानको टोलीले घरेलु मैदानजस्तै समर्थन पाएको थियो । तर, पहिलो हाफमा गोलका लागि ८ पटक प्रयास गरे पनि सफल हुन नसक्दा जर्मन टोली निराश देखिएको थियो ।
खेलको २५ औं मिनेटमा जर्मनीका मिडफिल्डर अलेक्जेन्डर पाभ्लोभिचले कर्नरमार्फत आएको बललाई हेड गर्दै गोल गरे पनि रेफ्रीले गोलकिपर फोफानामाथि फल भएको भन्दै त्यसलाई मान्यता दिएनन् । रेफ्रीको यो निर्णयप्रति जर्मन समर्थकले चर्को असन्तुष्टि पोखेका थिए । त्यसको केही समयमै आइभोरी कोस्टले अग्रता लियो ।
खेलको दोस्रो हाफमा पनि जर्मनीका जमाल मुसियालाले बल नेटको दिशा दिएका थिए, तर बिल्ड-अपका क्रममा ओडिलोन कोसोउनाउमाथि फल भएको भन्दै रेफ्रीले पुनः गोल रद्द गरिदिएका थिए ।
यस जितसँगै दुई खेलबाट ६ अंक जोड्दै जर्मनी समूह ‘ई’ को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको छ । पराजित आइभोरी कोस्टको ३ अंक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०८३, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपमा जर्मनीको सानदार सुरुवात, कुराकाओ ७–१ ले पराजित
जर्मनीद्वारा यूक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा