थुनामा रहेका राजेश अहिराजको मुद्दा पेसीमा

सफल खबर संवाददाता

शुक्रबार, ०५ मंसिर २०८२, ११ : २७
थुनामा रहेका राजेश अहिराजको मुद्दा पेसीमा

काठमाडौँ । जबरजस्ती करणी अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजको मुद्दा पेसीमा तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

उनले कात्तिक २३ मा थुनामुक्त गर्न माग गर्दै दफा ७३ अन्तर्गत निवेदन दिएका थिए । उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले २०८२ भदौ १२ मा अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । जिल्ला र उच्चको आदेशविरुद्ध उनी सर्वोच्च पुगेका हुन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले साउन १४ मा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस