एजेन्सी । अमेरिकन अर्बपति तथा प्रविधि व्यवसायी एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको गहिरो मतभेदपछि नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै मस्कले ‘अमेरिका पार्टी’को औपचारिक घोषणा गरेका हुन् ।
‘जब देश भ्रष्टाचार र खर्चकै कारण दिवालिया हुँदैछ, त्यहाँ हामी बहुदलीय प्रजातन्त्रमा होइन, एकदलीय व्यवस्थामा बाँचिरहेका छौं’, मस्कले लेखेका छन्, ‘आज ‘अमेरिका पार्टी’ गठन गरिएको छ- तिमीलाई फेरि स्वतन्त्रता दिन ।’
यो घोषणासँगै मस्कले ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ नामक घरेलु नीतिगत विधेयकप्रति आफ्नो गम्भीर असहमति दोहोर्याएका छन् । सो विधेयकले संघीय बजेट घाटामा खरबौं डलर थप्ने आँकलन गरिएको छ । यही विषयमा मतभेद भएपछि गत महिनाबाट उनीहरूबीच सम्बन्ध चिसिएको थियो ।
हालसम्म संघीय निर्वाचन आयोगमा मस्कले कुनै नयाँ दल दर्ता गराएको प्रमाण देखिएको छैन । तर, मस्कले आफ्नो पार्टीले वित्तीय पारदर्शिता, खर्च नियन्त्रण र करदाताको हितमा काम गर्ने बताएका छन् । उनले भनेका छन्, ‘हामी ऋणको दासत्व अन्त्य गर्न चाहन्छौं ।’
यद्यपि मस्क र ट्रम्पबीच सामाजिक मुद्दामा धेरै हदसम्म मिल्दोजुल्दो विचार भए पनि, आर्थिक नीतिको विषयमा उनीहरू अलगअलग देखिएका छन् । मस्कले रिपब्लिकनहरूको खर्च नीतिलाई आलोचना गर्दै आएका छन् ।
अमेरिकामा विगतमा पनि तेस्रो राजनीतिक दल गठनका प्रयास भएका थिए, तर खासै सफल हुन सकेका छैनन् । सन् १९९२ मा अर्बपति रोस पेरोटले स्वतन्त्र उम्मेदवारका रूपमा राष्ट्रपतीय निर्वाचनमा लगभग १९ प्रतिशत मत ल्याए पनि कुनै राज्य जित्न सकेनन् ।
राजनीतिक विश्लेषकहरू भन्छन्- नयाँ दल गठन गर्नु कानूनी, वित्तीय र संरचनागत रूपमा निकै चुनौतीपूर्ण कार्य हो । मतदाता र उम्मेदवार स्थापित दलभन्दा बाहिर जान हिच्किचाउने प्रवृत्ति देखिन्छ ।
मस्कले भने आगामी वर्षको मिडटर्म निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने र प्रारम्भमा केही मात्र कङ्ग्रेस तथा सिनेट सिटमा उम्मेदवारहरूलाई समर्थन गर्ने योजना बनाएको जनाएका छन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले पनि मस्कप्रति कटाक्ष गरेका छन् । उनले मस्कका कम्पनीहरूसँग रहेको सरकारी ठेक्का पुनः विचार गर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले मस्कले नेतृत्व गरेको ‘सरकारी कार्यदक्षता विभाग’लाई ‘राक्षस’ जस्तो भन्दै व्यंग्य गरेका छन् ।
यो नयाँ राजनीतिक ध्रुवीकरणले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ । तर, यसको सफलताको लागि मस्कले कति दूरसम्म तयारी गरेका छन् भन्ने अझै स्पष्ट भएको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ असार २०८२, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयर धनीहरूद्वारा रेकर्ड तलब योजना पारित
नयाँ पार्टी खोल्ने एलन मस्कको घोषणा
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क