माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, १८ : ०२
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवाहरूले ‘जेनजी रेड फोर्स’ गठन गरेका छन् । अनेरास्ववियु(क्रान्तिकारी)की केन्द्रीय सदस्य समेत रहेकी स्मृति तिमिल्सिनाको संयोजकत्वमा रेड फोर्स गठन भएको हो । सङ्गठनको नेतृत्व जेनजीले गर्ने भए पनि १४ देखि २९ वर्ष उमेरले नेतृत्व गर्ने गरी फोर्स गठन गर्न लागिएको संयोजक तिमिल्सिनाले रातोपाटीलाई बताइन् ।

 

‘अहिलेको सङ्क्रमणकालीन अवस्थामा देश साम्राज्यवादी तथा प्रतिक्रियावादीको रण मैदान बन्ने खतरा छ । सरकार विभिन्न एनजिओ/आइएनजिओले चलाइ राखेका छन् । देश नै नरहने अवस्था छ । जेनजी रेड फोर्स गठन गर्नुको उद्देश्य पार्टीलाई रूपान्तरण गरी चार/पाँच वर्षमा नम्बर एक पार्टी बनाउने हो’, उनले भनिन् । तिमिल्सिनाले असोज २९ गते सङ्गठनको औपचारिक घोषणा गर्ने तयारी भए पनि आज बेलुका सबै जिल्लाका संयोजकसँग छलफल गरी निष्कर्षमा पुग्ने बताइन् । उनका अनुसार अहिलेसम्म ४० जिल्लामा संयोजक तोकिएको छ । तिहार लगत्तै एक्सनमा उत्रिने तिमिस्सिनाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस