काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्ने विषयमा कांग्रेसका शेखर कोइराला पक्ष र महामन्त्री गगन थापा पक्षबीच सहमति छ । तर त्यसको प्रक्रिया के भन्नेमा भने दुवै नेताहरुका आ आफना मत छन् ।
यधपी विशेष महाधिवेशन बोलाउन महाधिवेशन प्रतिनिधिहरुलाई हस्ताक्षर गराउन भने दुवै पक्ष संयुक्त रुपमा नै लागिरहेको छ । यी दुवै पक्षका नेताहरुका भनाईलाई आधार मान्ने हो भने ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुले अहिलेसम्म विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।
कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेमा पार्टी सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने ब्यवस्था छ । शेखर र गगन दुवैले विशेष महाधिवेशन बोलाउने विषयमा हस्ताक्षर गराईरहँदा सोमबार कोइराला र थापावीच भेटवार्ता भएको छ ।
कोइराला निवासमा भएको वार्तामा थापा र कोइरालाका बीचमा विशेष महाधिवेशनका लागि भईरहेको हस्ताक्षर कसरी प्रयोग गर्ने र त्यसको प्रक्रिया के बनाउने भन्नेमा भने आ आफना बुझाई छन् । कांग्रेसले विकसित घटनाक्रमका बारेमा छलफल गर्न असोज २६ मा केन्द्रीय कार्यासम्पादन समितिको बैठक बोलाएको छ ।
शेखर कोइराला २४ भदौंको आक्रमणपछि घाइते भई स्वास्थ्यलाभ गरिरहेका पार्टी सभापति शेरवहादुर देउवाको धारणा पहिले केन्द्रीय कार्यासम्पादन समितिमा सुन्ने र त्यस आधारमा विशेष महाधिवेशन माग गरेर भएका हस्ताक्षर बुझाएर जाने भन्नेमा छन् ।
तर महामन्त्री गगन थापा भने केन्द्रीय कार्यासम्पादन समितिको बैठक बस्नु अगाडी अर्थात २५ असोज सम्ममा केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाउने र केन्द्रीय कार्यासम्पादनमा सिधै त्यसबारेमा छलफल गरेर विशेष महाधिवेशनको मिति तोकेर जाने गरी छलफल चलाउनु पर्ने पक्षमा छन् ।
विशेष महाधिवेशनको एजेण्डामा शेखर गगन एकै ठाँउ भएपनि प्रक्रियाका सवालमा भने एक हुन सकेका छैनन । प्रक्रिया एक बनाउने विषयमा सोमबार दुई नेताले लामै छलफल गरेको कोइराला निकट नेता गोविन्द पोखरेलले बताए ।
‘शेखर दाई केन्द्रीय कार्यासम्पादन समितिमा पहिले पार्टी सभापतिको कुरा सुन्यौ, त्यसपछि विशेष महाधिवेशन बोलाउने विषयमा प्रवेश गरौंला भन्नेमा देखिनुहुन्छ, तर महामन्त्री थापा केन्द्रीय कार्यसम्पादन अगाडी नै विशेष महाधिवेशन बोलाउन गरिएको हस्ताक्षर बुझाएर सिधा सिधा जाऔं भन्नेमा देखिनुहुन्छ, ’ कोइराला पक्षका अर्का एक नेताले भने,‘प्रक्रियाका विषयमा के गर्ने भन्नेमा मात्र कुरा मिलेको छैन । अव जिल्ला जिल्लामा गराईरहेको हस्ताक्षर संकलन गर्ने र त्यसपछि फेरि बुधबारसम्म छलफलमा बसेर प्रक्रियामा पनि सहमति खोज्ने गरी कुरा भएको छ ।’
देउवा पक्षका नेताहरु भने कांग्रेसले विशेष महाधिवेशनमा जाने भन्दा पनि नियमित महाधिवेशनबाटै जानुपर्ने पक्षमा छन् । नियमित महाधिवेशन गराउन समय आईसकेको सन्दर्भमा विशेष महाधिवेशन भनेर जान नहुने सस्थापन पक्षको मत छ । कांग्रेसमा नियमित महाधिवेशन, विशेष महाधिवेशन, कार्यवाहक सभापति तोक्ने र अहिलेको केन्द्रीय समिति नै विघटन गर्ने ४ विकल्पमाथि नेताहरूका फरक फरक धारणा छन् ।
संस्थापन पक्षका नेताहरू भने सकभर शेखर र गगनको योजनामा गराईरहेको हस्ताक्षर र विशेष महाधिवेशन टार्ने, त्यो पनि सम्भव नभएमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर निर्वाचनपछि महाधिवेशन गराउने, त्यो पनि सम्भव नभए नियमित महाधिवेशनको पक्षमा जान सकिने विकल्पहरू अघि सार्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर–गगनबिच भेटवार्ता