सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ

सफल खबर संवाददाता

बुधबार, १५ असोज २०८२, ०९ : २४
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ

वीरगञ्ज । नेपाल–भारत सीमा जोडिएको वीरगञ्जमा बडादसैँ सुरु भएसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै पर्सा प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत वीरगञ्ज–रक्सौलसहित आसपासका सीमा नाकाहरूमा सुरक्षा व्यवस्था चुस्त बनाएको छ । 

यस विशेष योजनाअन्तर्गत, सीमा क्षेत्रमा सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले भारतीय सीमासँग जोडिएका नाका र अन्य संवेदनशील ठाउँहरूमा 'डग स्निफिङ' (कुकुरमार्फत सुँघाएर जाँच गर्ने) सहितको टोली खटाइएको जानकारी दिएका छन् । 

अवैध गतिविधि रोकथाम प्रमुख लक्ष्य

घटस्थापनादेखि छठ पर्वसम्मका लागि पर्साका सीमा नाकाहरूमा आवश्यकताअनुसार प्रहरीसँगै कुकुरसहितको टोली खटाइएको छ । पर्वको बेला हुने अत्यधिक मानवीय भीडभाडको फाइदा उठाएर हुन सक्ने अवैध गतिविधिहरूको रोकथाम गर्न यो कदम चालिएको प्रहरीले जनाएको छ ।

खासगरी सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ तथा हातहतियारसहितका अन्य आपराधिक गतिविधिहरू नियन्त्रण गर्न तालिम प्राप्त कुकुरहरू परिचालन गरिएको प्रहरी प्रमुख पाठकले बताए । चाँडपर्वको बेला छिमेकी मुलुकबाट हातहतियार, विस्फोटक पदार्थ, लागुऔषध तथा अवैध वस्तु भित्रिन सक्ने जोखिमलाई निस्तेज पार्न जाँचलाई कडा बनाइएको उनको भनाइ छ । 

'डग स्निफिङ’ को मद्दतले लागुऔषध फेला 

सुरक्षा योजना अन्तर्गत खटिएको तालिम प्राप्त कुकुरको सहयोगमा हालै लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको २ ग्रामभन्दा बढी ब्राउनसुगरसहित सोमबार राति उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । 

पक्राउ पर्नेहरूमा झापाका घर भई हाल चितवनको रत्ननगर नगरपालिका वडा नं ८ बस्ने कैलाश कार्की र वीरगञ्ज महानगरपालिका वडा नं। १० निवासी राहुल सर्राफ रहेका छन् । पक्राउ परेका दुवैजनालाई बरामद लागुऔषधसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस