वीरगञ्ज । नेपाल–भारत सीमा जोडिएको वीरगञ्जमा बडादसैँ सुरु भएसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै पर्सा प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत वीरगञ्ज–रक्सौलसहित आसपासका सीमा नाकाहरूमा सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।
यस विशेष योजनाअन्तर्गत, सीमा क्षेत्रमा सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले भारतीय सीमासँग जोडिएका नाका र अन्य संवेदनशील ठाउँहरूमा 'डग स्निफिङ' (कुकुरमार्फत सुँघाएर जाँच गर्ने) सहितको टोली खटाइएको जानकारी दिएका छन् ।
अवैध गतिविधि रोकथाम प्रमुख लक्ष्य
घटस्थापनादेखि छठ पर्वसम्मका लागि पर्साका सीमा नाकाहरूमा आवश्यकताअनुसार प्रहरीसँगै कुकुरसहितको टोली खटाइएको छ । पर्वको बेला हुने अत्यधिक मानवीय भीडभाडको फाइदा उठाएर हुन सक्ने अवैध गतिविधिहरूको रोकथाम गर्न यो कदम चालिएको प्रहरीले जनाएको छ ।
खासगरी सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ तथा हातहतियारसहितका अन्य आपराधिक गतिविधिहरू नियन्त्रण गर्न तालिम प्राप्त कुकुरहरू परिचालन गरिएको प्रहरी प्रमुख पाठकले बताए । चाँडपर्वको बेला छिमेकी मुलुकबाट हातहतियार, विस्फोटक पदार्थ, लागुऔषध तथा अवैध वस्तु भित्रिन सक्ने जोखिमलाई निस्तेज पार्न जाँचलाई कडा बनाइएको उनको भनाइ छ ।
'डग स्निफिङ’ को मद्दतले लागुऔषध फेला
सुरक्षा योजना अन्तर्गत खटिएको तालिम प्राप्त कुकुरको सहयोगमा हालै लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको २ ग्रामभन्दा बढी ब्राउनसुगरसहित सोमबार राति उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ पर्नेहरूमा झापाका घर भई हाल चितवनको रत्ननगर नगरपालिका वडा नं ८ बस्ने कैलाश कार्की र वीरगञ्ज महानगरपालिका वडा नं। १० निवासी राहुल सर्राफ रहेका छन् । पक्राउ परेका दुवैजनालाई बरामद लागुऔषधसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असोज २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध गाँजासहित दुईजना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ