डेंगुको सङ्क्रमण दर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने तयारी

सफल खबर संवाददाता

विहीबार, २८ जेठ २०८३, ११ : ०२
डेंगुको सङ्क्रमण दर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने तयारी

काठमाडौँ । सरकारले डेंगुको सङ्क्रमण दरलाई आगामी पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगु रोकथाम तथा नियन्त्रण बहु क्षेत्रीय योजनामा आगामी पाँच वर्षभित्र संघीय, प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेंगु नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ ।

डेंगुबाट हुने मृत्युदर ०.०१ प्रतिशतभन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ । यसका साथै योजनाअन्तर्गत डेंगुका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ ।

लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ । साथमा जोखिमपूर्ण क्षेत्रका जनतालाई डेंगु बोकेको लामखुट्टे उक्त क्षेत्रमा पस्नुअघि नै सचेत गराउने ‘पूर्व चेतावनी प्रणाली’ सुदृढ गर्नेछ ।

साथै डेंगुवाहक लामखुट्टेको प्रवेश भएको थाहा हुनासाथ प्रतिकार्यमा सक्रिय गराउन ‘एकीकृत वाहक निगरानी प्रणाली’ लाई प्रभावकारी तथा दिगो बनाउने लक्ष्य पनि सरकारको छ । यसबाहेक रोगको जोखिम कम गर्न यसबारे सञ्चारलाई समेत प्रभावकारी बनाउने लक्ष्य सरकारको छ ।

प्रतिक्रिया दिनुहोस