एमाले विधान महाधिवेशन : भण्डारी–पोखरेल समूह सामूहिक फरक मतको तयारीमा, ओलीले सुरु गरे ‘गोप्य’ सर्वेक्षण

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०८२, ०८ : ५२
एमाले विधान महाधिवेशन : भण्डारी–पोखरेल समूह सामूहिक फरक मतको तयारीमा, ओलीले सुरु गरे ‘गोप्य’ सर्वेक्षण

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)को विधान महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र असन्तुष्टि र मतभेद खुलेर सतहमा आउन थालेको छ ।

विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय र उमेर हदवन्दी तथा दुई कार्यकाल मात्र कार्यकारी पदमा रहने व्यवस्था प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले आफुलाई सहज हुने गरी हटाउने निर्णय लिएपछि यी विषय समेतलाई लिएर एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, स्थायी समिति सदस्य कर्ण थापा लगायतका नेताहरू सामूहिक रुपमा फरक मतसहित विधान महाधिवेशनमा प्रस्तुत हुने तयारीमा छन् ।

आगामी भदौ २० देखि २२ गते ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन हुँदैछ । त्यही महाधिवेशनमा प्रस्तुत गर्ने गरी भण्डारी–पोखरेल समूहले फरक मतको दस्तावेज तयार पार्ने तयारी गरेको हो । शनिबार बेलुकी भण्डारीसहित पोखरेल, ज्ञवाली, कर्ण थापा, रमेश पौडेल, नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष बाबुराम थापा लगायत नेताहरू काठमाडौंको हात्तिगौढा नजिकैका एक नेताको निवासमा भेला भएर प्रारम्भिक खाका तयार गर्ने गरी छलफल गरेका थिए ।

सामूहिक दस्तावेज र ‘नोट अफ डिसेन्ट’

प्रारम्भिक खाका सुरेन्द्र पाण्डेले तयार गर्ने र त्यसलाई अन्तिम रूप दिन भण्डारी, पोखरेल, पाण्डे र ज्ञवाली स्वयं सहभागी हुने तयारी भएको स्रोतले जनाएको छ । यसअघि केन्द्रीय समितिमा राखिएको पाण्डे र ज्ञवालीको फरक मत अन्तरपार्टी निर्देशन (अपानी) मा नै नपठाइएको भन्दै उनीहरूले केन्द्रीय कार्यालयमा निवेदन समेत दिएका थिए । विद्याको सदस्यता रोक्ने निर्णयमाथि राखिएको ‘नोट अफ डिसेन्ट’लाई छलफलका लागि पेस गर्नै नदिएको भन्दै असन्तुष्टि चुलिएको छ ।

यही कारणले असन्तुष्ट नेताहरुले अबका सबै बैठकमा आफ्ना फरक मतलाई कडाइका साथ राख्ने तयारी गरेको बताएका छन् । यसरी फरक मतलाई महाधिवेशनमै सामूहिक दस्तावेजका रूपमा पेस गर्ने तयारीले एमालेभित्रको असन्तुष्टि थप संगठित हुँदै गएको संकेत गरेको छ ।

भण्डारी सक्रिय राजनीतिमा पुनः फर्किएपछि एमालेभित्र शक्ति समीकरणमा ठूला तरंग सिर्जना भएका छन् । उनीमाथि सदस्यता रोक लगाउने निर्णयले असन्तुष्ट नेताहरूलाई एउटै ध्रुवमा ल्याएको छ । महाधिवेशनसम्म पुग्दा यसले पार्टीभित्र गहिरो खाडल र दुई धार स्पष्ट पार्ने सम्भावना बढेको छ ।

सदस्यता नवीकरण नगर्ने निर्णयलाई ‘राजनीतिक विभेद’ भन्दै भण्डारी–पोखरेल समूहले त्यसको असर पार्टी एकतामै पर्ने चेतावनी दिँदै आएको छ । त्यही कारण महाधिवेशनलाई लक्षित गरी वैकल्पिक दस्तावेज तयार पार्ने उनीहरुको तयारीले एमाले नेतृत्वलाई ठूलो दबाबमा पारेको छ ।

पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेका नेताहरूमा स्थायी समिति सदस्य कर्ण थापा, केन्द्रीय सदस्यहरू सरिता न्यौपाने, रमेश पौडेल, बाबुराम थापा, विनोद ढकाल, युवराज कार्की लगायत छन् । त्यस्तै एमाले काठमाडौं अध्यक्ष दीपक निरौला, बागमती प्रदेश कमिटी अध्यक्षका उम्मेदवार रहेर पराजित कृष्णप्रसाद दाहाल, सचिव हस्त पण्डित, पेसागत महासंघ नेपालका पूर्व अध्यक्ष पुण्य ढकाल, राष्ट्रिय युवा संघ र अनेरास्ववियुका पूर्वअध्यक्ष–पदाधिकारीसमेत सक्रिय रूपमा जोडिँदै गएका छन् ।

यसरी केन्द्रीय तहदेखि जनवर्गीय संगठनका तहमा समेत भण्डारी–पोखरेल पक्षको समर्थन देखिन थालेपछि महाधिवेशनमा ओली नेतृत्वविरुद्ध संगठित चुनौती प्रस्तुत हुने प्रारम्भिक संकेत देखिएको छ ।

ओलीले सुरु गरे आन्तरिक मत सर्वेक्षण

यसैबीच अध्यक्ष केपी शर्मा ओलीले देशभर आन्तरिक मत सर्वेक्षण सुरु गरेका छन् । अघिल्लो कार्यकालमा प्रधानमन्त्री हुँदा आफ्नो ‘विकास विज्ञ’ टिममा संलग्न गजेन्द्र थपलियालाई ओलीले यो जिम्मेवारी दिएका छन् ।

हाल बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष रहेका थपलियाको नेतृत्वमा भइरहेको सर्वेक्षणबाट प्रदेश–प्रदेशमा देखिएको राजनीतिक माहोल र कार्यकर्ताको मनोविज्ञानबारे रिपोर्ट संकलन भइरहेको बुझिएको छ ।

सर्वेक्षणको प्रतिवेदन ओलीलाई मात्र बुझाइने हो वा सार्वजनिक गरिने भन्नेबारे खुलाइएको छैन । तर, पार्टीभित्रै गुपचुपरुपमा ओलीको निर्देशनमा व्यापक रूपमा भएको भनिएको यस सर्वेक्षणले आगामी विधान महाधिवेशनमा नेतृत्वलाई कस्तो प्रतिकूल वा अनुकूल वातावरण मिल्ने हो भन्नेबारे संकेत गर्ने अपेक्षा गरिएको छ ।

महाधिवेशन नजिकिँदै गर्दा एकातर्फ ओलीले सर्वेक्षणमार्फत आन्तरिक मनोविज्ञान नाप्ने रणनीति अपनाइरहेका छन् भने अर्कोतर्फ असन्तुष्ट नेताहरू फरक मतसहित संगठित चुनौतीको तयारीमा छन् । यी दुई समानान्तर गतिविधिले पार्टीभित्र विवाद थप गहिरो हुँदै जाने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस