भक्तपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने भएको छ । आज भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरी बिमा कार्यक्रम लागू गरिने उल्लेख गरे ।
मन्त्री थापाले भने, “पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर भएका काम गरिरहेका छौँ, त्यसैले प्रदेशका १३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बिमाभित्र समेटेर बिमाबापतको प्रिमियम शुल्क प्रदेश सरकारले व्यहोर्ने गरी कार्यक्रम लागू गर्ने भएका हाैँ, त्यसका लागि बजेटको व्यवस्था गरिसकेका छौँ ।”
उनले पत्रकार स्वास्थ्य बिमाका लागि मन्त्रालयले रु २० लाखको बजेट चालु आर्थिक वर्षका लागि व्यवस्था गरेको जानकारी दिँदै यसका लागि कार्यविधि तयार भइरहेको बताए । बिमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउँदै पत्रकारलाई पाँच जनाको परिवार मानेर समूहमा आबद्ध गराएर बिमाको प्रिमियम सरकारले तिर्नेगरी व्यवस्था गर्ने तयारी भएको उनले बताए ।
मन्त्री थापाले पत्रकारको स्वास्थ्य सुरक्षामा बिमाले दीर्घकालीन रूपमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनाका रूपमा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ कार्यक्रम पनि यसैवर्षदेखि सञ्चालन हुने जानकारी दिए ।
मन्त्री थापाले १३ जिल्लाका १३ प्रादेशिक अस्पताल मात्रै नभइ अब दूरदराजका विकट क्षेत्रका नागरिकलाईसमेत सहज स्वास्थ्य सेवाको पहुँच पुर्याएर आमनागरिकले सरकार गाउँगाउँ पुगेको महसुस गर्नेगरी कार्ययोजना अगाडि बढाइएको बताए । स्वास्थ्य सामग्री, औषधि, उपकरण लिएर आफैँ गाउँगाउँ पस्ने गरेको भन्दै उनले जनताले परिवर्तनलाई अनुभूति गर्नेगरी सबैले काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०१ भदौ २०८२, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस
बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान