न्यायपालिकालाई सबल र जनउत्तरदायी बनाउने प्रधान न्यायाधीश शर्माको प्रतिबद्धता

सफल खबर संवाददाता

बुधबार, २० जेठ २०८३, १६ : १८
न्यायपालिकालाई सबल र जनउत्तरदायी बनाउने प्रधान न्यायाधीश शर्माको प्रतिबद्धता

काठमाडौँ । प्रधान न्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई अझ सुदृढ, सक्षम र नागरिकप्रति उत्तरदायी बनाउने दिशामा आफू प्रतिबद्ध रहेको बताएका छन्।

सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले विगतका प्रधानन्यायाधीशहरूले सुरु गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै संस्थागत सुधारलाई प्राथमिकतामा राखिने बताए।

उनका अनुसार अदालतमा पुग्ने विवादलाई प्राथमिक समाधानको माध्यम होइन, अन्तिम विकल्पका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ। उनले वैकल्पिक विवाद समाधानका उपायलाई व्यवहारिक रूपमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपरिहार्य हुने धारणा राखे।

शर्माले संविधानको सर्वोच्चता, विधिको शासन, न्यायिक स्वतन्त्रता, निष्पक्षता र संस्थागत सुशासनप्रति आफ्नो अडान निरन्तर रहने स्पष्ट पारे।

उनले न्याय प्रणालीलाई छिटो, सहज, सुलभ, मितव्ययी र प्रभावकारी बनाउन सके मात्र नागरिकको विश्वास मजबुत हुने उल्लेख गरे।

न्यायिक सुधारका योजनामा नेतृत्वदायी भूमिका प्रधानन्यायाधीशको भए पनि समग्र सुधार न्यायाधीश र कर्मचारीबीचको समन्वयात्मक सहकार्यबाट मात्र सम्भव हुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस