ललितपुर । नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ । सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा कुष्ठरोगी व्यवस्थापनका लागि झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गरेका थिए । हाल यो स्थान नेपाल कुष्ठरोग निवारण सङ्घको मातहतमा रहेको खोकना कुष्ठरोग आरोग्य आश्रमको रूपमा परिचित छ ।
ललितपुरको खोकना र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलमुनिबाट बग्ने वाग्मती नदीको किनारमा रहेको यस आश्रममा हाल १३३ जना कुष्ठरोग प्रमाणित व्यक्ति बस्दै आएका छन् । आश्रममा नेपाल कुष्ठरोग निवारण सङ्घको नाममा २८ रोपनी र थप ३० रोपनी सरकारी जमिन गरी करिब ५८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
खोकना कुष्ठरोग आरोग्य आश्रमकी प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार आश्रममा हाल बस्दै आएका १३३ जनाभन्दा बढी बिरामीलाई राख्न सकिने ठाउँ छैन । नयाँ व्यक्तिहरू भर्ना हुनका लागि आउने गरे पनि कोटा र कोठाको अभावले गर्दा धेरैलाई फर्काउनुपरेको छ । कुनै बिरामीको निधन भएपछि वा उनीहरूले कोठा छोडेपछि मात्र नयाँ व्यक्तिलाई भर्ना गरिन्छ ।
आश्रममा हाल २१ देखि ९६ वर्ष उमेर समूहका कुष्ठरोग प्रमाणित व्यक्ति छन् । तर, बाबुआमा निधन भएपछि उनका सन्तानले त्यहीँ बस्न नपाउने व्यवस्थाले समस्याको घेरो अझै बढाएको छ । प्रमुख श्रेष्ठ भन्छिन्, ‘बाबाआमा नभएपछि आश्रममा बस्न नपाउने सन्तानको दयनीय अवस्था हुन्छ । उनीहरू कतै जान नपाउने भएर विचल्लीमा पर्छन् ।’
वि.सं २०५२ अघि विभिन्न दातृ निकायबाट पुनर्वासको व्यवस्था हुने गरेको भए पनि त्यसपछिको समयमा यस्तो पहल नहुनु गम्भीर समस्या बनेको छ । ‘आल्टा नेपाल’ नामक संस्थाले ६० परिवारको पुनर्वास गरे पनि हालसम्म सो पहल स्थगित भएको छ ।
भवन संरचना र सुविधाको अवस्था
हाल आश्रममा रहेका अधिकांश भवन दातृ निकायको सहयोगमा निर्माण गरिएका हुन् । राणाकालमा बनेको ऐतिहासिक कुष्ठरोगखाना २०७२ को भूकम्पले क्षति पुगेपछि भत्काइएको थियो ।
अहिले करिब ५० वर्ष पुराना संरचनामात्र बाँकी छन् । सीमित जनशक्ति र संरचनाको अभावले बिरामीले पर्याप्त सुविधा पाउन सकेका छैनन् ।
सन् १८५० मा जङ्गबहादुर राणा फ्रान्स र लन्डन भ्रमणमा जाँदा त्यहाँको नागरिक स्वास्थ्य र संस्थाको अध्ययन गरेका थिए । सो अध्ययनले उनलाई नेपालमा कुष्ठरोगको भयावह अवस्थाको समाधान गर्न उत्प्रेरित गरेको जानकारहरू बताउँछन् ।
उक्त बेलामा काठमाडौँ उपत्यकाका विभिन्न पाटी, मन्दिर र सार्वजनिकस्थलमा बस्ने कुष्ठरोगीलाई खोकनास्थित कुष्ठरोगखानामा ल्याइएको थियो ।
समाजबाट टाढाको समुदाय
कुष्ठरोगका कारण समाजबाट अपहेलित भएकाहरूले आपसमा मिलेर छुट्टै समुदाय निर्माण गरेका थिए । कसैको औँला नभएको, कसैको खुट्टा नभएको अवस्थामा उनीहरू एकअर्कालाई देखेर चित्त बुझाउँथे । सयौँ कुष्ठरोगी एउटै ठाउँमा बस्ने, एकअर्काको मृत्युमा मिलेर अन्त्येष्टि गर्ने परम्परा स्थापित भएको थियो ।
वि.सं २०५९ मा कुष्ठरोग खानाको नाम परिवर्तन गरी खोकना कुष्ठरोग आरोग्य आश्रम राखिएको हो । तेह्र वर्षको उमेरदेखि आश्रममा बस्दै आएका ७० वर्षीय काजीमान तामाङका अनुसार सुरुमा महिलालाई ललितपुरतर्फ र पुरुषलाई दक्षिणकाली नगरपालिकातर्फको खोला किनारमा राखिन्थ्यो ।
उपचार र सेवा सुविधा
आश्रममा बस्ने बिरामीका लागि प्राथमिक उपचार सेवा उपलब्ध छ । हप्तामा दुईपटक निःशुल्क उपचार हुन्छ । जटिल अवस्थामा रहेका बिरामीलाई स्वास्थ्य बिमाअनुसार पाटन अस्पतालमा र कुष्ठरोगको विशेष उपचारका लागि गोदावरी नगरपालिकास्थित टीकाभैरवको आनन्दवन अस्पतालमा लगिन्छ, जहाँ निःशुल्क उपचार सेवा प्रदान गरिन्छ ।
सन्ताउन्न वर्षदेखि आश्रममा बस्दै आएका काजीमान तामाङ भन्छन्, ‘पहिले साँघुरो कोठामा चार जना बस्नुपर्थ्याे । अहिले केही सुविधा छ । तेह्र वर्षमा आश्रम आएँ, अहिले ७० वर्ष पुगेँ । जीवनको अधिकांश समय यहीँ बितेको छ ।’
खोकना कुष्ठरोग आरोग्य आश्रमले नेपालमा कुष्ठरोगीको व्यवस्थापन र पुनःस्थापनामा सघाएको उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० साउन २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी