उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्व हस्तान्तरण

सफल खबर संवाददाता

बुधबार, २३ बैशाख २०८३, १४ : ३७
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्व हस्तान्तरण

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अब अञ्जन श्रेष्ठले सम्हालेका छन्। विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था लागू भएपछि श्रेष्ठले संस्थाको शीर्ष नेतृत्व जिम्मेवारी ग्रहण गरेका हुन्।

महासंघको विधानको दफा २९ को उपदफा ३ अनुसार हाल कायम वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वतः अध्यक्ष हुने र त्यसपछि अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने प्रावधान रहेको छ। सोही कानुनी व्यवस्थाका आधारमा श्रेष्ठ अध्यक्ष बनेका हुन्। अध्यक्षको कार्यकाल तीन वर्ष रहने व्यवस्था छ।

हालै सम्पन्न महासंघ कार्यकारिणी समितिको निर्वाचनपछि पदाधिकारी तथा सदस्यहरूको चयन पूरा भइसकेको छ। अध्यक्ष पदबाहेक अन्य संरचनामा मंगलबार निर्वाचन सम्पन्न भएको थियो र अन्तिम नतिजासमेत सार्वजनिक भइसकेको जनाइएको छ।

वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने परम्पराअनुसार महासंघमा यो प्रक्रिया अपनाइएका नेतामध्ये श्रेष्ठ चौथो हुन्। यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल पनि यही व्यवस्थाअनुसार अध्यक्ष बनेका थिए।

नवनियुक्त अध्यक्ष श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक समेत हुन्। उनले अटोमोबाइल, सेवा, पर्यटन तथा उत्पादनमूलक क्षेत्रसहित विभिन्न उद्योग क्षेत्रमा लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस