काठमाडौँ । नेपाली काँग्रेसले कात्तिकमा हुन लागेको रुपन्देही-३ को उपनिर्वाचनमा मधेशवादी दलहरू एक भएर आए चुनौती हुनसक्ने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा त्यहाँको वस्तुस्थितिबारे गम्भीर छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए।
उनले भने, ‘रुपन्देहीमा गएको निर्वाचनमा विभिन्न गठबन्धनहरू पनि थिए। यो गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत हेर्न हो भने काँग्रेस पहिलो पार्टी हो। २० हजार मत प्राप्त गरेको थियो। दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो। तेस्रो पार्टी रास्वपाले १४ हजार मत ल्याएको थियो। त्यसपछि मधेशवादी दलहरू थिए। अहिलेको पोजिसन के छ भन्न गाह्रो छ।’
उनले मधेस केन्द्रित दलहरू एक भएर लडे राम्रो उपस्थिति उनीहरूको देखिसक्नेबारे पनि चर्चा भएको बताए। उनले थपे, ‘तर, त्यहाँ काँग्रेस नै पहिलो पार्टी हो। प्राविधिक रूपले चुनाव हारेका हौँ। भोटको अवस्था मजबुत रहेको हाम्रो निष्कर्ष छ। उम्मेदवारबारे कुरा भएको छैन। प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भए उनीहरू पनि हुन सक्छन्।’
उनले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू पनि धेरै हुनसक्ने आकलन गरिएको पनि बताए। उनले सत्तामा सँगै भए पनि एमाले र काँग्रेस नै मिलेर जानेबारे अहिलेसम्म कुनै छलफल नभएको भन्दै पछिको कुरा भन्न नसकिने बताए।
बैठकमा रुपन्देही काँग्रेसका सभापति रामकृष्ण खाँण र काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए। त्यहाँ काँग्रेसले बालकृष्ण खाँणलाई अघि सार्न खोजेको चर्चा छ।
मधेस केन्द्रित सात दल सम्मिलित संयुक्त लोकतान्त्रिक मोर्चाले उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई सघाएर जाने निर्णय यसअघि नै गरिसकेको छ। यद्यपि, जनमतले भने केही विमति राख्दै आइरहेको छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने