कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०८२, १२ : ४६
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले राष्ट्रिय सभामा पुगेको निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधान हटाउन एमालेका ५ सांसदले संशोधन प्रस्ताव हालेकोप्रति आपत्ति जनाएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले एमालेलेका सांसदहरूले संसदीय दलको निर्णय प्रस्ताव दर्ता गरेको भनेकाले गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको नेता अर्जुननरसिंह केसीले बताए।

उनले भने, ‘सांसदहरू आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ, तर संशोधन प्रस्ताव राख्ने एक जनाले हामीले संसदीय दलको निर्णय अनुसार राखेको भन्नुभएको छ। त्यसमा आपत्ति छ। सरकारले संयुक्त छलफल गरेर ल्याएको कुलिङ पिरियडसम्बन्धी प्रावधान छ। त्यहाँ कसरी कसको कमजोरी भयो त्यो छानबिन हुँदैछ। त्यसमा पनि दलको निर्णय अनुसार हो भने भारी आपत्तिजनक कुरा हो। यो गठबन्धन सरकार हो गम्भीरतापूर्वक हेर्नुपर्छ।’

उनले भूमि विधेयकमा मतभेद पहिलादेखि रहेको भन्दै अब समितिले छलफल गरेर निष्कर्षमा पुर्‍याउने विश्वास व्यक्त गरे। संवैधानिक विधेयक फेरि अध्ययन गर्नको लागि राष्ट्रपतिले फिर्ता पठाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस