मधेशको पानी समस्याबारे मुख्यसचिवको चासो, गृह मन्त्रालयलाई समाधानका लागि निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०८२, २० : ३५
मधेशको पानी समस्याबारे मुख्यसचिवको चासो, गृह मन्त्रालयलाई समाधानका लागि निर्देशन

काठमाडौँ । वर्षा अभावका कारण मधेश प्रदेशमा देखिएको खानेपानी र सिँचाइ संकटबारे संघीय सरकार गम्भीर बनेको छ। सरकारका मुख्यसचिव एकनारायण अर्यालको सक्रिय नेतृत्वमा सचिवस्तरीय बैठकले मधेशका बारा, पर्सा र सप्तरी लगायतका जिल्लामा गम्भीर रूपमा परेको खडेरीको प्रत्यक्ष प्रभाव खानेपानी तथा सिँचाइ पूर्वाधारमा परेको निष्कर्ष निकाल्दै तत्काल, मध्यम र दीर्घकालीन समाधानका उपाय तय गर्ने प्रक्रिया अघि बढाएको छ।

२०७९ सालयता लगातार सुख्खा र मनसुन कमजोर भएपछि मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा जमिन मुनीको पानी समेत सुक्दै गएको, सार्वजनिक धाराहरू सुक्न थालेको र सिँचाइका लागि पानी नपुग्दा धान रोप्न समेत गाह्रो भइरहेको अवस्था देखिएको छ।

यसै सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रमुख जिल्ला अधिकारीमार्फत खानेपानी र सिँचाइ समस्या समाधानका लागि स्थानीय तहहरूसँग समन्वय गर्न भनेका छन् । पत्रमा भनिएको छ, “मधेश प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकार भई आम जनतामा सुख्खाजन्य विपद् उत्पन्न भएकोले स्थानीय स्तरबाट समन्वय र पहल गर्नका लागि प्रजिअलाई अनुरोध गरिएको छ।”

प्रतिक्रिया दिनुहोस