इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०८३, ०६ : ३८
इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ । विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी छ । दोस्रो हाफको ७० मिनेटमा फ्रान्सले ३–० ले अग्रता लिँदा केलियन एमबाप्पेले दुई गोल गरेका छन् । खराब मौसमका कारण दुई घण्टासम्म रोकिएर पुनः सुरु भएको खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित नजिक पुगेको हो ।

खेलको सुरुवाती समयमै फ्रान्सले अग्रता लिएको थियो । एमबाप्पेले देशका लागि १०० औँ खेल खेल्ने क्रममा उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । एमबाप्पेले पहिलो गोल खेलको १४ मिनेटमा गरेका हुन् ।

पहिलो हाफ सकिएलत्तै मौसम खराब भएपछि खेल दुई घण्टाका लागि स्थगित गरिएको थियो । मौसम सुधारिएर खेलको दोस्रो हाफ सुरु भएपछि इराकले रक्षात्मक रणनीति अपनाए पनि फ्रान्सको आक्रमणलाई रोक्न सकेन । एमबाप्पेले व्यक्तिगत दोस्रो गोल खेलको ५४ मिनेटमा गरेका हुन्।

त्यसपछि ओसमान डेम्बेलेले टोलीका लागि ६६ मिनेटमा तेस्रो गोल थपे । डेम्बेलेको कुनै पनि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो गोल हो ।

यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो भने इराक नर्वेसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस