हामीसँग चाँडै टेस्ट राष्ट्र बन्ने परिकल्पना र योजना छ: पारस खड्का

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०८२, १३ : १२
हामीसँग चाँडै टेस्ट राष्ट्र बन्ने परिकल्पना र योजना छ: पारस खड्का

काठमाडौँ । सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक सभामा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का सहभागी भएका छन् ।उनले हिजोको एक सत्रमा क्यानले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) बारे दमदार प्रस्तुति दिए ।

विश्वभरका १०८ राष्ट्र सहभागी आइसिसी साधारण सभामा पारसले करिब १० मिनेटको प्रिजेन्टेसन गरेका हुन् । उनलाई आइसिसीले नै नेपाली क्रिकेट र विशेषतः एनपीएलका सम्बन्धमा प्रिजेन्टेसनका लागि आग्रह गरेको थियो । नेपालसहित ४ वटा देशका क्रिकेट बोर्ड प्रतिनिधिले मात्रै यस्तो प्रिजेन्टेसन दिने अवसर पाएका थिए ।

आइसिसीको बैठक हिजै सकिएको छ । पाँच दिन चलेको बैठकमा नेपालको सहभागिता प्रभावकारी भएको पारसले बताए ।उनले भने, ‘नेपाली क्रिकेटको चर्चा र प्रभाव अहिले अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको पाएको छु । मैले दिएको प्रस्तुतिले नेपाल प्रिमियर लिग (एनपीएल) लाई विश्वस्तरमा परिचित गराउन थप मद्दत गरेको छ ।’

आफ्नो प्रस्तुतिमा पारसले क्यानले आयोजना गरेको एनपीएलको पहिलो संस्करण नै भव्य र अभूतपूर्व सफल भएको बताएका थिए । एनपीएलमा भारतका शिखर धवन र न्यूजिल्यान्डका जिमी निसमसहित अन्तर्राष्ट्रिय स्तरका केही ख्यातिप्राप्त क्रिकेटरहरूलाई सहभागी गराउन सकिएको भन्दै उनले सन्तोष व्यक्त गरे । एनपीएलको ट्रफीको मौलिकताबारे वर्णन गर्दै यसले ग्लोबल वार्मिङलाई न्यूनीकरण गर्ने सन्देश बोकेको उल्लेख गरे । एनपीएलमा विश्व क्रिकेटका महान् हस्ति ब्रायन लारा समेत सहभागी भएको उनले सम्झिए ।

पारसले नेपाली क्रिकेटले विगत दुई दशकमा डिभिजन ५ देखि एक दिवसीय मान्यतासम्म आइपुग्न निकै कठिन संघर्ष गरेको र अबको लक्ष्य टेस्ट राष्ट्र बन्ने रहेको उद्घोषसमेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस