आजदेखि कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर, विशेष सापटीमा ६.२५ प्रतिशत ब्याजदर

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०८२, ०७ : २३
आजदेखि कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर, विशेष सापटीमा ६.२५ प्रतिशत ब्याजदर

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर आजदेखि लागू हुनेगरी परिवर्तन गरेको छ । 

कोष सञ्चालक समितिको निर्णय अनुसार सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरिएको छ ।

यसैगरी, कोषले सञ्चयकर्ताहरूलाई प्रदान गर्ने सापटीहरूमा लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत निर्धारण गरिएको छ । 

विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताहरूको हकमा ०.२५  प्रतिशतले छूट दिने व्यवस्था गरिएको कोषले जनाएको छ । 

यस्तै कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि रू. एक करोडसम्म र घर मर्मत गर्नका लागि रू. ३० लाखसम्म सापटी प्रदान गर्ने गरेको छ ।

यस्तै, कोषले सञ्चयकर्ता स्वयम् वा पति/पत्नी वा छोरा/छोरीलाई उच्च शिक्षा अध्ययन गर्ने/गराउने प्रयोजनका लागि शैक्षिक सापटी रू. ४० लाखसम्म र सञ्चयकर्ताको सेवा अवधिमा भैपरी आउने कार्यका लागि दिइने सरल सापटी रू. ६० लाखसम्म प्रदान गर्दै आएको छ ।

साथै, कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा प्रदान गर्ने गरेको छ ।

कोषबाट अघिल्लो आर्थिक वर्षमा १ लाख ५८ हजार ३४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४५६ सञ्चयकर्ताले कोष भुक्तानी, २ हजार ९२६ सञ्चयकर्ताले धितोमा आधारित सापटी, २५ हजार २९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र १ हजार ७९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तिभरण भुक्तानी लिएका छन् ।

काठमाडौँ उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरू मार्फत सञ्चयकर्ताहरूलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गर्ने कार्य हुँदै आएको प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस