अप्राकृतिक गठबन्धनको चरित्र लोक लजाउने गरी उजागर भयो : प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ३० असार २०८२, १४ : ३३
अप्राकृतिक गठबन्धनको चरित्र लोक लजाउने गरी उजागर भयो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस-एमालेको गठबन्धन सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको आरोप लगाएका छन् । अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको उनको टिप्पणी थियो ।

सदनलाई सम्बोधन दाहालले भने, ‘तपाईँहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहीत स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ ।’दुई ठूला दल मिल्दा जस्तो गरेपनि हुन्छ भनेपनि निरंकूशतावादी सोच र अहंकारले सार्वभौम सांसदलाई समेत बिचौलियाको चलखेलको मैदान बनाइएको उनको जिकिर छ ।

‘सरकारले १ वर्ष गरेका काम हेर्दा संख्याको दम्भमा कुशासनका पहाड ठडिए । प्रधानमन्त्रीको बेडरुममा बिचौलिया र दलालको पहुँच पुष्टि भइसकेको छ । सरकारमा रहेका पार्टीका नेताले गठबन्धनको औचित्य पुष्टि गर्न भनिसकेका छन्’, उनले थपे ।

प्रचण्डले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा-नियुक्तिमा हुने लाखौंका डिल भइरहेको भन्दै नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम भइरहेको आरोप लगाए ।

आफूले एक वर्षअघि विश्वासको मत लिँदै गर्दा अलोकतान्त्रिक गठबन्धनले लोकतन्त्रमा संकट सरकारकै रबैयाबाट आउँछ भनेको उनले सम्झिए । ‘प्रचण्डसँगको रिस लोकतन्त्रसँग नलिनु होला भन्ने खबरदारी गरेको थिएँ । सामान्यतया लोकतन्त्रमा ठूला दल मिलेर सरकार बनाइँदैन । कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा पर्‍यो । अघिल्ला सरकारको कामबाट थालेको सिर्जित परिणामबाहेक यो एक वर्षमा केही देखिएन । अर्थतन्त्रका सीमित सूचक देखाएर अर्थतन्त्रमा ठूलै सुधार आएको दाबी गरियो’, दाहालले भने ।

स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा चलखेल भइरहेको भन्दै प्रचण्डले भने, ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो । प्रधानमन्त्री आफैँ अध्यक्ष रहेको सुशासन आयोगको हविगत के रहेछ भन्ने प्रष्ट भएन र ! ’

 

प्रतिक्रिया दिनुहोस