मोबाइल बैंकिङ, वालेट र क्युआर कारोबार ह्वात्तै बढ्यो, कुनबाट कति ?

सफल खबर संवाददाता

विहीबार, २६ असार २०८२, २० : १२
मोबाइल बैंकिङ, वालेट र क्युआर कारोबार ह्वात्तै बढ्यो, कुनबाट कति ?

काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी प्रणाली प्रयोगको आकर्षण ह्वात्तै बढेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले बिहीबार सार्वजनिक गरेको पछिल्लो मासिक प्रतिवेदन अनुसार, २०८२ जेठ महिनासम्म आइपुग्दा डिजिटल माध्यममार्फत हुने कारोबारको सङ्ख्या र मूल्य दुवैमा उल्लेख्य फड्को देखिएको छ।

मोबाइल बैंकिङ, डिजिटल वालेट, क्युआर कोड, इन्टरनेट बैंकिङजस्ता प्रविधिमा आधारित सेवा उपयोगकर्ताको झिनो मात्रामा होइन, करोडौंको संख्यामा विस्तार भएको तथ्याङ्कले देखाएको छ।

प्रतिवेदनअनुसार, जेठमा मात्र मोबाइल बैंकिङमार्फत ५ करोड ७७ लाखभन्दा बढी कारोबार भएका छन् । जसबाट ४ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार सम्पन्न भएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो वृद्धि निकै उच्च हो।

त्यस्तै, डिजिटल वालेटमार्फत ३ करोड ७८ लाख कारोबार भई ४२ अर्ब ८८ करोड रुपैयाँको भुक्तानी भएको छ। वालेटमार्फत हुने कारोबार संख्या र मूल्य दुवैमा स्थिर रूपमा उकालो लागेको देखिन्छ।

क्युआर कोडमा आधारित भुक्तानी प्रणालीले पनि डिजिटल कारोबारको संरचना परिवर्तन गर्न थालेको छ। जेठमा मात्र क्युआर कोडबाट ३ करोड ५१ लाख कारोबार गरिएका छन्, जसको मूल्य ९३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो । 

फास्टर पेमेन्ट सिस्टम्स (एफपीएस) मार्फत १५ लाख ७९ हजार कारोबारबाट ४ खर्ब ६९ अर्ब रुपैयाँको भुक्तानी भएको छ। इन्टरनेट बैंकिङमार्फत ४ लाख ८२ हजार कारोबार गरी २० अर्ब ६३ करोड रुपैयाँ कारोबार भएको छ।

परम्परागत भुक्तानी प्रणाली भने विस्तारै ओझेलमा पर्दै गइरहेको देखिन्छ। एटीएममार्फत नगद झिक्ने कारोबार संख्या घटेर १ करोड ५ लाख नाघेको छ भने ८७ अर्ब ५७ करोड रुपैयाँ निकालिएको छ, जुन अघिल्लो महिनाको तुलनामा केही कम हो।

डेबिट कार्ड प्रयोग गरेर गरिने भुक्तानी पनि घट्दो क्रममा छ। यस्तै, आरटीजीएस (ठूलो मूल्यको कारोबार प्रणाली) मा भने स्थिर वृद्धि देखिएको छ। यस प्रणालीबाट ७१ हजारभन्दा बढी कारोबार गरी ६ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

चेक क्लियरेन्स (ईसीसी) र पोइन्ट अफ सेल्स माध्यमबाट हुने कारोबारमा खासै उतारचढाव देखिएको छैन भने आईपीएस प्रणालीमार्फत कारोबार संख्या केही घटे पनि मूल्यमा वृद्धि भएको छ।

प्रीपेड कार्ड र इ-कमर्स क्षेत्र पनि उत्साहजनक रूपमा बढ्दै छन्। ब्रान्चलेस बैंकिङको कारोबार भने केही घटेको देखिएको छ। तर, सीमापार क्युआर प्रणालीको सुरुवातसँगै अन्तर्राष्ट्रिय डिजिटल कारोबारतर्फ पनि नेपाल अघि बढ्न थालेको संकेत मिलेको छ। जेठमा मात्रै १ लाख ५० हजार सीमापार क्युआर कारोबार भई ४० करोड रुपैयाँभन्दा बढीको भुक्तानी भएको छ।

प्रतिक्रिया दिनुहोस