नयाँ स्टक एक्सचेन्ज ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’ : स्वर्णिम वाग्ले

सफल खबर संवाददाता

विहीबार, २६ असार २०८२, १५ : १७
नयाँ स्टक एक्सचेन्ज ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्काल रोक्नुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै डा.वाग्लेले यस्तो बताएका हुन् । उनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्काल रोकेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनःसंरचनामा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

उनले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारीलाई ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’ को संज्ञा दिए ।डा. वाग्लेले भने, ‘अर्थशास्त्र बुझेका, अनुभवी पूर्व अर्थमन्त्री युवराज खतिवडाले दोस्रो स्टक एक्सचेन्जको खेल ‘प्योर, नेकेड करप्सन’ (शुद्ध, नाङ्गो भ्रष्टाचार) हो भन्नुभएको थियो । म अर्थशास्त्री भएर यो सुन्दा मलाई पीडा भयो, तर उहाँको विश्लेषणमा मेरो समर्थन छ ।’

आफ्नो सैद्धान्तिक मान्यता प्रतिस्पर्धा र उपभोक्ताको हितमा भएपनि अहिलेको प्रक्रिया गलत नियतबाट प्रेरित भएको उनले बताए ।  ‘म सामान्यतया प्रतिस्पर्धा होस्, लागत घटोस्, कम मूल्यमा उपभोक्ताले वस्तु तथा सेवा उपभोग गर्न पाउन् भन्ने मान्यता राख्छु,‘ उनले भने, ‘तर यहाँ जुन नियत र प्रक्रियाबाट यो विषय अघि बढेको छ, त्यसले गम्भीर शङ्का जन्माएको छ ।’

डा. वाग्लेले यो सम्पूर्ण प्रक्रियालाई ‘पोलिसी क्याप्चर’ (नीतिगत कब्जा) को उत्कृष्ट नमुनाको रूपमा व्याख्या गरे । उनका अनुसार स्वार्थ समूहले आफ्नो हित अनुकूल हुने गरी नीति निर्माण प्रक्रियालाई नै कब्जामा लिएको छ । 

‘यो निहित स्वार्थ, साँठगाँठ र नीतिगत कब्जाको डरलाग्दो खेल हो । नेपालको खर्चिलो, भड्किलो र अस्वस्थ राजनीतिक प्रणालीलाई धान्नका लागि राजनीतिक दलहरूलाई स्रोत चाहिन्छ र त्यही स्रोत जुटाउन यस्ता खेलहरू हुने गरेका छन्,’ उनले भने । 

नयाँ लाइसेन्सको ढोका खोल्नुभन्दा पहिला वर्षौँदेखि चर्चामा रहेको नेप्सेको पुनर्संरचना, पुँजी वृद्धि र निजी क्षेत्रको सहभागिता बढाउने काम गर्नुपर्ने उनको तर्क थियो । उनले नेप्से सुधारका लागि समयबद्ध कार्य योजना बनाएर अघि बढ्न सरकारलाई सुझाव दिए । 

‘पहिला भएकोलाई सुधारौँ । एउटा निश्चित समयसीमा तोकेर सुधारका काम गरौँ । त्यसपछि पनि अर्थतन्त्रको आकारले माग्यो, वित्तीय विविधीकरण हुँदै गयो र नयाँ वित्तीय औजारहरू आए भने दोस्रो एक्सचेन्जको आवश्यकता पर्न सक्छ, तर अहिले हतारमा यो प्रक्रिया अघि बढाउनु हुँदैन,” उनले स्पष्ट पारे ।

डा. वाग्लेले यो प्रक्रियामा संलग्न केही व्यक्तिहरूको स्वार्थ बाझिएको तर्फ पनि सङ्केत गरे । उनले निर्णय प्रक्रियामा बस्नेहरूले आफ्नो स्वार्थ बाझिएमा आफूलाई अलग राख्ने अन्तर्राष्ट्रिय अभ्यास नेपालमा पालना नभएको बताए ।

उनले भने, ‘जुन हतारो र अपारदर्शी ढङ्गले यो निर्णय गराउन खोजिँदै छ, यसले केवल केही सीमित व्यक्ति र समूहलाई पोस्ने काम गर्छ । अहिलेको यो विवादित र शङ्कास्पद प्रक्रियालाई तत्काल रोक्नुपर्छ ।’

उनले अहिलेको अवस्थामा सरकारको प्राथमिकता भएकै संरचनालाई सफा र बलियो बनाउनु हुनुपर्ने धारणा राखे । उनले भने, ‘यो अनावश्यक र हतारोमा गरिएको लवीको कपाल डोरी बाटेर तान्ने काम बन्द गरौँ ।’

प्रतिक्रिया दिनुहोस