मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, २२ असार २०८२, १५ : ४७
मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध

जनकपुरधाम । बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेशसभा बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका छन् । १० दिनपछि बसेको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका हुन् ।

बैठकको सुरुमै उठेर नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद कनिष पटेलले बजेटको बारेमा सरकारकै नेतृत्व गरिरहेका दल जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउत, सत्ता पक्षकै सांसदहरुले बिचौलिया प्रवेश, असमान बजेट ल्याएकोले पुनर्लेखन हुनुपर्ने माग गरे ।

उनले पुनर्लेखन नभए सदन चल्न नदिने बताए । यस्तै, नेकपा माओवादी केन्द्रका दलका उपनेता युवराज भट्टराईले सत्ता पक्षबाटै बजेट असमान र विचौलिया हाबी भएको बताइसकेको, सिमित क्षेत्रमा बजेटको ओइरो र पाँच लाखसम्मका खुद्रे योजना राखेकोले बजेट पुनर्लेखन हुनुपर्ने माग गरे ।

‘सीमित क्षेत्रमा बजेटको ओइरो छ । पाँच लाखसम्मका खुद्रे योजना राखिएको छ । यी धेरै विषयहरु भएकाले बजेटको पुनर्लेखनको विकल्प छैन । पुनर्लेखन नभएसम्मका निम्ति अघि नबढाइयोस् भन्ने आग्रह गर्न चाहन्छु,’ उनले सभामुखलाई आग्रह गर्दै भने ।

बैठकमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटलाई जनताले रामौसँग देखेको बताए । ‘यसअघि यसै मुख्यमन्त्रीले बजेट ल्याउँदा ह्याक भएको बताएको र अहिले उनकै दलका नेता बिचौलिया हाबी भएको भन्छन् । र स्वभाविक रुपमा छ । प्रतिपक्षीले पहिले नै भनिसकेको छ । २० वर्ष पहिलेसम्मका भुक्तानीका लागि मुख्यमन्त्रीको पिताको नाममा बजेट राखिएको छ । जबसम्म समान बजेट हुँदैन । विचौलिया हाबी रहन्छ । तबसम्म कुनै पनि हालतमा बजेट पारित हुन दिन्नौं,’ यादवले भने ।

यसपछि सभामुख रामचन्द्र मण्डलले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस