काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकको एकमात्र छलफलको एजेण्डा विधान महाधिवेशन रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । विधान महाधिवेशनको मिति नजिकिएसँगै एमालेले त्यसको तयारी गर्न सचिवालय बैठक बोलाएको हो ।
सचिवालय बैठकले विधान संशोधन प्रस्तावको खाका प्रस्तुत गर्न कुनै नेताको संयोजकत्वमा समिति बनाउने वा त्यसको जिम्मा संगठन विभागलाई दिने भन्ने निर्णय गर्ने नेताहरूको भनाइ छ । ‘विधान महाधिवेशनमा प्रस्तुत गर्ने संशोधित विधानको प्रस्तावित खाका बनाउनुपर्छ । त्यसपछि राजनीतिक प्रस्ताव, तेस्रो संगठनात्मक प्रस्ताव र समसामयिक सङ्कल्प प्रस्तावहरू पनि तयार गर्नुपर्छ । ती कामका लागि नेताहरूलाई जिम्मेवारी आजको बैठकले दिनेछ’, प्रचार विभाग प्रमुख गौतमले भने, ‘संशोधित विधानको खाका मातहतका कमिटीमार्फत सुझाव माग्नुपर्ने हुन्छ ।’
संशोधित विधानको खाकामा प्रदेश, जिल्ला र स्थानीय तहको सुझाव समेटेर विधान महाधिवेशनमार्फत पारित गर्नुपर्ने एमालेको वैधानिक व्यवस्था छ । ‘त्यस क्रममा एमालेले संशोधित विधानको खाका मातहतका कमिटीमा पठाएर त्यसमा सुझाव माग्न पनि सक्छ र विद्यमान विधानमा कहाँ कहाँ संशोधन आवश्यक छ ? भनेर सिधै धारणा माग्न पनि सक्छ’, गौतमको भनाइ छ।
यो समग्र कामको संयोजन गर्ने गरी निर्णय गरेपछि एमालेलाई आजैबाट विधान महाधिवेशन लाग्ने देखिएको छ । आन्तरिक तयारी अभावमा विधान महाधिवेशन सर्छ कि भन्ने कतिपय नेताहरूको भनाइ आइरहेपनि प्रचार विभाग प्रमुख गौतम विधान महाधिवेशन सार्नुपर्ने कुनै कारण नरहेको बताउँछन् ।
‘हामीलाई चाहिने समय एक महिना हो त्यो समय पर्याप्त छ । त्यसैले सर्छ भन्ने छैन’, उनले भने, ‘भदौमा विधान महाधिवेशन हुँदा हामी आगामी वैशाखभित्र राष्ट्रिय महाधिवेशन गर्न सक्छौ । त्यसको तयारी भइरहेको छ ।’
एमालेमा खासगरी ७० वर्षे उमेर हदको विषय बढी चर्चामा छ । पहिलो विधान महाधिवेशनले ७० वर्षे उमेर हद लगाए पनि बिचमा उक्त व्यवस्था निलम्बन गरिएको छ । सो व्यवस्था निलम्बन नै गरेर जाने वा ७० वर्षे उमेर हद कायम गर्ने भन्ने एमालेमा दुई धार छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह