काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकको एकमात्र छलफलको एजेण्डा विधान महाधिवेशन रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । विधान महाधिवेशनको मिति नजिकिएसँगै एमालेले त्यसको तयारी गर्न सचिवालय बैठक बोलाएको हो ।
सचिवालय बैठकले विधान संशोधन प्रस्तावको खाका प्रस्तुत गर्न कुनै नेताको संयोजकत्वमा समिति बनाउने वा त्यसको जिम्मा संगठन विभागलाई दिने भन्ने निर्णय गर्ने नेताहरूको भनाइ छ । ‘विधान महाधिवेशनमा प्रस्तुत गर्ने संशोधित विधानको प्रस्तावित खाका बनाउनुपर्छ । त्यसपछि राजनीतिक प्रस्ताव, तेस्रो संगठनात्मक प्रस्ताव र समसामयिक सङ्कल्प प्रस्तावहरू पनि तयार गर्नुपर्छ । ती कामका लागि नेताहरूलाई जिम्मेवारी आजको बैठकले दिनेछ’, प्रचार विभाग प्रमुख गौतमले भने, ‘संशोधित विधानको खाका मातहतका कमिटीमार्फत सुझाव माग्नुपर्ने हुन्छ ।’
संशोधित विधानको खाकामा प्रदेश, जिल्ला र स्थानीय तहको सुझाव समेटेर विधान महाधिवेशनमार्फत पारित गर्नुपर्ने एमालेको वैधानिक व्यवस्था छ । ‘त्यस क्रममा एमालेले संशोधित विधानको खाका मातहतका कमिटीमा पठाएर त्यसमा सुझाव माग्न पनि सक्छ र विद्यमान विधानमा कहाँ कहाँ संशोधन आवश्यक छ ? भनेर सिधै धारणा माग्न पनि सक्छ’, गौतमको भनाइ छ।
यो समग्र कामको संयोजन गर्ने गरी निर्णय गरेपछि एमालेलाई आजैबाट विधान महाधिवेशन लाग्ने देखिएको छ । आन्तरिक तयारी अभावमा विधान महाधिवेशन सर्छ कि भन्ने कतिपय नेताहरूको भनाइ आइरहेपनि प्रचार विभाग प्रमुख गौतम विधान महाधिवेशन सार्नुपर्ने कुनै कारण नरहेको बताउँछन् ।
‘हामीलाई चाहिने समय एक महिना हो त्यो समय पर्याप्त छ । त्यसैले सर्छ भन्ने छैन’, उनले भने, ‘भदौमा विधान महाधिवेशन हुँदा हामी आगामी वैशाखभित्र राष्ट्रिय महाधिवेशन गर्न सक्छौ । त्यसको तयारी भइरहेको छ ।’
एमालेमा खासगरी ७० वर्षे उमेर हदको विषय बढी चर्चामा छ । पहिलो विधान महाधिवेशनले ७० वर्षे उमेर हद लगाए पनि बिचमा उक्त व्यवस्था निलम्बन गरिएको छ । सो व्यवस्था निलम्बन नै गरेर जाने वा ७० वर्षे उमेर हद कायम गर्ने भन्ने एमालेमा दुई धार छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु