विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्तुलित’ भन्दै तत्काल सच्याउन माग गरेको छ ।
प्रदेश सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै माओवादीका सांसद गणेश प्रसाद उप्रेतीले बजेटले लोकतन्त्र, वित्तीय अनुशासन र समानताको खिल्ली उडाएको आरोप लगाएका हुन् ।
‘यो बजेट सच्याउनुस्, हाम्रो तर्फबाट यो सरकारलाई हार्दिक आग्रह छ,’ उप्रेतीले विशेष समयमा बोल्दै भने, ‘यो बजेटले प्रदेशको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।’
नेता उप्रेतीले बजेट विनियोजनमा चरम असमानता देखिएको भन्दै आपत्ति जनाए । उनले भौतिक पूर्वाधार मन्त्रीको गृह जिल्ला खोटाङमा एक अर्बभन्दा बढी बजेट केन्द्रित गरिएको तर अन्य सांसदको क्षेत्रमा डेढ करोड मात्र छुट्याइएको भन्दै यसलाई ‘वित्तीय अराजकता’ को संज्ञा दिए । ‘एउटा क्षेत्रमा डेढ अर्ब र अर्को सांसदलाई डेढ करोड, यो कत्रो असमानता हो ?’ उनले प्रश्न गरे ।
पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य जस्ता महत्त्वपूर्ण क्षेत्रलाई बजेटले उपेक्षा गरेको र अपाङ्गता, महिला, दलित र विद्यार्थीको बजेट कटौती गरेर सरकारले आफ्नो अनुत्तरदायी चरित्र देखाएको उनले आरोप लगाए ।
आफ्नो भाषणका क्रममा उनले सत्तापक्षका सांसदहरू बजेट गलत छ भन्ने थाहा पाएर पनि बोल्न नसक्ने अवस्थामा रहेको भन्दै रोचक उखान प्रस्तुत गरे । उनले एक सांसदको भनाइ उद्धृत गर्दै भने, ‘अहिलेको अवस्था ‘कहूँ तो माई मरजाई, न कहूँ तो बाप कुत्ता खाई’ जस्तो भएको छ । बोलौँ भने आमा मर्ने, नबोलौँ भने बाबुले कुकुरको मासु खाने ।
उप्रेतीले सदनमा लोकतन्त्रको अभ्यास हुनुपर्नेमा ‘सिन्डिकेट’ चलेको र सांसदहरूलाई दलको कार्यालयबाट बोल्नका लागि दबाब दिइएको गम्भीर आरोप लगाए । बजेटले आफ्नो कार्यक्षेत्र मिचेको, वित्तीय अनुशासन उल्लङ्घन गरेको र प्रदेशको भविष्यलाई अन्धकारतर्फ धकेल्ने प्रयास गरेकोले यसलाई नसच्याए इतिहासकै सबैभन्दा नकारात्मक बिम्बको रूपमा स्थापित हुने उनको चेतावनी थियो । उनले सरकारलाई भोलि जवाफ दिँदा बजेट सच्याउने घोषणा गर्न आग्रह पनि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने
कोशी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाइने
कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल छ : प्रधानमन्त्री ओली