सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालन गरिन्छ : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०५ मंसिर २०७५, १८ : २५
सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालन गरिन्छ : प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक विद्यालयहरुमा प्राविधिक र व्यावसायिक शिक्षा सञ्चालन गरिने बताउनुभएको छ । 
भरतपुर महानगरपालिका २५ शुक्रनगरस्थित राष्ट्रिय मावि शोशीको स्वर्ण जयन्ती समापन समारोहमा अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा मौलाएको व्यापारीकरणले सामुदायिक विद्यालयमा ठूलो असर परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब सामुदायिक विद्यालयलाई कमरोज अवस्थामा राखिने छैन, प्राविधिक शिक्षाका कक्षाहरु चलाइन्छ, प्रत्येक सामुदायिक विद्यालयले कुनै न कुनै प्राविधिक शिक्षाको पढाइ हुने वातावरण बनाइन्छ ।’
उहाँले देशमा निजीकरणले सामुदायिक विद्यालय बन्द हुने अवस्था सिर्जना भएको बताउँदै भन्नुभयो, ‘निजीकरणलाई विस्तारै नियमन गर्दै सामुदायिक विद्यालयमा आकर्षण बढाउनुपर्छ । यसको लागि सरकार शिक्षामा ठूलो लगानी गर्न तयार छ ।’
उहाँको अनुसार जनता शिक्षित नभएसम्म देशको विकास हुन नसक्दैन । ‘अब सामुदायिक विद्यालयलाई सरकारले नजिकबाट हेरेको छ, अब शिक्षामा भइरहेको निजीकरण विस्तारै नियमन हुँदै जान्छ, आत्तिनै पर्दैन सामुदायिक विद्यालयले काँचुली अवश्य फेर्छ ।’ 
‘अहिले सामुदायिक विद्यालयहरु विस्तारै सुक्दै जाने अवस्था आएको छ’ उहाँले भन्नुभयो, ‘एक अर्कालाई मर्ज गर्नुपर्ने, विस्तारै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तर अब सरकारले त्यसो गर्न दिँदैन । सामुदायिक विद्यालयलाई मजबुद पारिन्छ, शैक्षिक गुणस्तरमा ठूलै फड्को मार्न आवश्यक छ ।’
सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरमा सुधारका साथै भौतिक पूर्वाधारमा समेत ध्यान दिन पर्ने भन्दै प्रचण्डले विद्यालयमा आवश्यक शिक्षक दरबन्दीबारे पहल गर्ने र भौतिक निर्माणका लागि तत्कालका लागि संसद विकास कोषबाट तत्कालका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।  
कार्यक्रममा चितवनका सांसद कृष्णभक्त पोख्रेलले अहिलेको सरकारले शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । त्यस्तै पूर्वउपप्रधानमन्त्री अमिक शेरचनले सामुदायिक विद्यालयहरु अघि बढ्न सक्नुपर्ने बताए । यसैगरी कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले महानगरले शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । 
कार्यक्रममा स्वर्णजयन्ती समारोह अध्यक्ष घनश्याम चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी न्यौपानेले विद्यालयको वस्तुगत अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।  विद्यालयका प्राचार्य हरि सुवेदीले विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी दिनुभयो । 
भरतपुर २५ का वडाध्यक्ष विजय भुजेलले वडाबाट बजेट विद्यालयलाई पारिरहेको बताउनुभयो । कार्यक्रम सहायक प्राचार्य तारानाथ अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहयोगी १५० जनालाई सम्मान गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस