विद्युत् नपुगेका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सफल खबर संवाददाता

शनिबार, ३१ जेठ २०८२, ०९ : ३३
विद्युत् नपुगेका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सुर्खेत । विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरूमा ६६ लाख रुपैयाँ आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।

त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए । डोल्पोबुद्ध गाउँपालिका– ६ मा २५ लाख लागतमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका– १ मा २० लाखमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए ।

ठूलीभेरी नगरपालिका– ११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा ३० लाखमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस