अमेरिकाले आफ्ना विद्यार्थीको भिसा रद्द गरेकोमा चीन खुसी

एजेन्सी

सोमबार, १९ जेठ २०८२, १० : ३३
अमेरिकाले आफ्ना विद्यार्थीको भिसा रद्द गरेकोमा चीन खुसी

एजेन्सी । अमेरिकामा पढ्न आएका चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने ह्वाइट हाउसको निर्णयले चिनियाँ कम्युनिस्ट पार्टीलाई खुसी बनाएको अमेरिकी तल्लो सदन कांग्रेसका सदस्य राजा कृष्णमूर्तिले दाबी गरेका छन् ।

“उनीहरू यी व्यक्तिहरू फर्काउन चाहन्छन् । उनीहरू वैज्ञानिक, उद्यमी र इन्जिनियरहरू फिर्ता गर्न चाहन्छन् जसले उनीहरूको अर्थतन्त्रलाई मद्दत गर्नसक्छ,” अमेरिकी यो नीतिको उनीहरूले प्रशंसा गरेको भन्दै कृष्णमूर्तिले सीबीएसलाई भने, “त्यसैले, यो नीतिले हामी आफैँलाई भन्दा उनीहरूलाई र अन्य देशहरूलाई बढी मद्दत गरिरहेका छौँ ।”

विदेश मन्त्री मार्को रुबियोले गत बुधबार चिनियाँ विद्यार्थीको भिसा, विशेष गरी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडिएका वा महत्वपूर्ण क्षेत्रमा अध्ययनरत विद्यार्थीको भिसा रद्द गर्ने घोषणा गरेका थिए । 

गतवर्ष लगभग दुई लाख ७७ हजार चिनियाँ विद्यार्थी अमेरिकामा अध्ययनरत थिए । सिलिकन भ्यालीका उच्च शिक्षित प्रविधि कर्मचारीहरूमध्ये करिब २० प्रतिशत चीनबाट आएका हुन् ।

ह्वाइट हाउसले कति चिनियाँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई यो निर्णयले असर पार्ने छ भन्ने विवरणहरू दिएको छैन । आयातकर वार्ताले पहिले नै तनावपूर्ण बनेको दुई देशबीचको सम्बन्ध अहिले झन् बिग्रिएको छ ।

कृष्णमूर्तिले ट्रम्प प्रशासनको चिनियाँ विद्यार्थीलाई प्रतिबन्ध लगाउने नीति गलत, पक्षपातपूर्ण र भेदभावपूर्ण रहेको बताए ।

कृष्णमूर्ति ‘हाउस सेलेक्ट कमिटी अन द स्ट्राटेजिक कम्पिटिसन बिटविन द यूएस एन्ड द चाइनिज कम्युनिस्ट पार्टी’का सदस्य हुन् । उनले भिसा रद्दको सट्टा चिनियाँ विद्यार्थीमा बढी निगरानी उचित हुने बताए ।

प्रतिक्रिया दिनुहोस