कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०८२, १६ : ०७
कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै

सुर्खेत । यतिबेला कर्णालीका हिमाली गाउँहरू सुनसान छन् । विद्यालयहरू बन्द गरिएको छ भने पशुचौपाया समेत गाउँमा भेटिन छाडेका छन् । कर्णाली प्रदेशको डोल्पा, जुम्ला, हुम्ला र मुगु लगायत हिमाली जिल्लाहरूका नागरिक यार्सा गुम्बा सङ्कलनका लागि हिमाल उक्लिएपछि गाउँहरू रित्तिएका हुन् ।

जाजरकोट र रुकुम पश्चिमका माथिल्लो क्षेत्रका युवाहरू समेत यार्सा सङ्कलन गर्न डोल्पाली पाटनहरूमा जाने गरेका छन् । विगत दुई दशकदेखि उनको मुख्य आम्दानीको स्रोत नै यार्सा हो । यसैबाट आउने रकमले वर्षभरिको घर खर्च जोहो गर्दै आएका छन् ।

तर पछिल्लो समय तीनै हिमाली पटमा पुगेकाहरू लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या समेत बढेको छ । बुधबार मात्रै यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको काइके गाउँपालिकास्थित नावरपानी पाटन पुगेका जाजरकोटका एक युवाको मृत्यु भयो । मृत्यु हुनेमा नलगाड नगरपालिका—८, जाजरकोटका १९ वर्षीय धनलाल विक रहेका छन् ।

नावरपानी पाटन पुगेका उनलाई लेक लागेको थियो । उनी एक हप्ताअघि आफ्नो बुबासँग यार्सा सङ्कलनका लागि डोल्पा पुगेका थिए । लेक लागेर बिरामी भएका उनले समयमै उपचार नपाउँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नीरिक्षक टोपेन्द्र बुढाले जानकारी दिए ।

‘पाटनमा पुग्न मात्रै हिँडेर ४–५ दिन लाग्छ । कोही बिरामी भएपछि समयमै उपचार पाउन सक्ने सम्भावना छैन,’ उनले भने, ‘पछिल्लो समय लेक लागेर समयमै उपचार नपाउँदा धेरैको ज्यान गइरहेको छ ।’

गत ७ जेठमा यार्सा संकलनकै लागि डोल्पा पाटनमा पुगेका गुठीचौर गाउँपालिका–१ मणिसाँघुका भीमबहादुर सिंहको लेक लागेर मृत्यु भयो । डोल्पाको जगदुल्ला गाउँपालिका–१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका बेला उनलाई लेक लागेको थियो । लेक लागेर बिरामी भएका भीमबहादुरलाई घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

जुम्लाकै तातोपानी गाउँपालिका–८ टोप्लागाउँकी २७ वर्षीय कल्पना शाहीको बिहीबार चट्याङ लागेर मृत्यु भयो । उनी तातोपानी गाउँपालिका–८ स्थित पाटनमा यार्सा टिप्न गएकी थिइन् । पाटनमा यार्सा खोजिरहेकै अवस्थामा उनलाई चट्याङ लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ज्येष्ठ महिनामा मात्रै डोल्पाली पाटनमा दुई जनाले ज्यान गुमाएका छन् भने पाँच जना बिरामी छन् । उनीहरू केहीको नेपाली सेनाको टोलीले उद्धार गरेको छ भने केही व्यक्तिहरूको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कार्यालयका अनुसार गत वर्ष डोल्पामा ८ र मुगुमा ६ सङ्कलकको लेक लागेर मृत्यु भएको थियो । त्यस्तै विभिन्न पाटनमा गएका ४३ जनालाई उद्धार गरिएको थियो । ३ वर्षको अवधिमा यार्सा सङ्कलनका लागि ४० जनाले ज्यान गुमाएको कार्यालयको तथ्याङ्क छ ।

लेक लाग्ने र अप्ठेरो भिर पाखामा ज्यानकै बाजी लगाएर युवा, महिला, ज्येष्ठ नागरिक सबै उमेर समूहका व्यक्तिहरू हिमाली पाट्नमा जाने गर्दछन् । डोल्पामा यो वर्ष जेठ ५ देखि यार्सा सङ्कलन सुरु भएको छ ।

डिभिजन वन कार्यालयमार्फत सामुदायिक वनका ४१ वटा र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रका २१ पाटनमा यार्चागुम्बु सङ्कलन भइरहेको डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले बताए । उनका अनुसार अहिलेसम्म झन्डै चार हजार स्थानीय यार्सा टिप्न विभिन्न पाटनमा पुगेका छन् ।