विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशन सम्पन्न

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०८२, १२ : १९
विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले स्रष्टा सम्मान, पत्रिका विमोचन तथा वसन्त काव्य गोष्ठीको कार्यक्रमसहित आफ्नो आठौँ अधिवेशन शनिबार सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्व एवम् वरिष्ठ साहित्यकार प्रमोद प्रधानको प्रमुख आतिथ्यमा  प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौँस्थित सभाकक्ष (रुफटप हल) मा सो कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणबाट सेवा निवृत्त भएका साहित्यकार द्वय भगवती प्रसाईँ र दीपकप्रसाद दाहाललाई  दोसल्ला  र नगद राशि सहित ‘अमर ज्योति साहित्य सम्मान-२०८२’ समर्पण गर्नुका साथै अमर ज्योति साहित्यिक त्रैमासिकको ६६ औँ अंक (२०८२,जेठ अंक) समेत लोकार्पण भयो।

सो समारोहमा आयोजित वसन्त काव्य गोष्ठीमा प्रमुख अतिथि प्रमोद प्रधान, विशेष अतिथिहरू (विष्णु बहादुर सिंह, पुण्य प्रसाद घिमिरे, रामेश्वर राउत मातृदास, मञ्जुश्री प्रधान लगायतका स्रष्टाले रचना वाचन गरे । सम्मानित साहित्यकार द्वय भगवती प्रसाईँ र दीपक प्रसाद दाहालले साहित्यिक समाजले योगदानको उचित मूल्यांकन गर्दै सम्मानित गरेकोमा खुसी व्यक्त गर्दै आ-आफ्नो सिर्जना सुनाए ।

उक्त कार्यक्रममा रचना वाचन गर्ने अन्य स्रष्टाहरूमा अच्युत प्रसाद पौडेल चिन्तन,रेणु अधिकारी मौनता, घनबहादुर थापा, थर्क बहादुर थापा,चिरन्तन विक्रम राणा, नारायण प्रसाद आचार्य, शारदा प्रसाद भट्टराई (वशिष्ठ बन्धु) ,कविता पोखरेल,सुभाष अधिकारी,शारदा भट्टराई पोखरेल,रीता चालिसे खनाल,आविष्कार कला,कृष्णदेव रिमाल ‘शब्द सेना’ विष्णु आचार्य अतृप्त, मुकुन्दप्रसाद प्रसाईँ, बलराम पुडासैनी,अनिल पौडेल,मिमन पुलामी,कृष्ण मोहन जोशी, राजु शर्मा, रमेश तिमल्सिना सागर शारदा पराजुली लगायत सहभागिता थियो ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि प्रमोद प्रधानले सिर्जनशीलता सबै मानवमा निहित गुण रहेको धारणा राख्दै  सिर्जनशीलताको प्रस्फुरणले आनान्दानुभूति दिलाउने विचार प्रकट गरे । उनले नेपाल विद्युत् प्राधिकरणले धेरै साहित्यिक प्रतिभाहरू जन्माएको उदाहरण प्रस्तुत गर्दै प्राधिकरणका स्रष्टाहरूको सिर्जनशीलता कार्यालयको घेराबाट बाहिर निस्केर राष्ट्रिय स्तरसम्म पुग्नु पर्ने धारणा राखे ।

कार्यक्रमका सभाध्यक्ष कृष्णदेव रिमाल ‘शब्द सेना’ले साहित्य समाजका लागि योगदान दिने अग्रजहरूको  स्मरण गर्दै भौतिकका साथै भावात्मक बिजुली उत्पादनमा समेत समाज क्रियाशील रहँदै आएको विचार प्रकट गरे। उनले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सक्रिय उपस्थिति जनाउने सम्बद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन पनि गरे ।

सोही अवसरमा सम्पन्न भएको विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशनले ३ वर्षको कार्यकालका लागि विष्णु आचार्य अतृप्तुको अध्यक्षतामा ११ सदस्यीय नयाँ  कार्यसमिति सर्वसम्मत चयन गर्‍यो। समितिका अन्य पदाधिकारीहरूमा शारदा पराजुली (उपाध्यक्ष), युवराज शर्मा (सचिव)  भोलानाथ शर्मा (सहसचिव) र मुकुन्द प्रसाद प्रसाईँ (कोषाध्यक्ष) रहेको छ भने कार्यसमिति सदस्यहरूमा संगीता पौडेल अधिकारी, बलराम पुडासैनी, रीता चालिसे खनाल, मिमन पुलामी, अनिल पौडेल र राम राजा ओझा रहेका छन ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशेष अतिथि,अतिथि स्रष्टाका साथै  साहित्य समाजका पूर्व अध्यक्ष  एवम् निर्वाचक मण्डलका पदाधिकारीहरू (विष्णु बहादुर सिंह, पुण्यप्रसाद घिमिरे तथा रामेश्वर राउत मातृदासलाई समाजको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

 

 

Tags :

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुहोस