काठमाडौं । विगतमा ‘राजनीतिमा नैतिकता प्रधान हुन्छ’ भन्दै अरूलाई राजीनामाको पाठ पढाउने गृहमन्त्री रमेश लेखक आज आफैं गम्भीर आरोपको घेरामा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसाको नाममा हुने करोडौंको अवैध असुली प्रकरणमा संलग्नताको आशंकाले गृह मन्त्रालय नै तरंगित छ । तर, मन्त्री लेखक भने ‘म संलग्न छैन’ भन्दै पद जोगाउने बचाउमा छन् ।
राजनीतिक मूल्य र नैतिकताको कुरा गर्दा अग्रपंक्तिमा देखिने कांग्रेस नेता लेखकमाथि अहिले प्रश्नको भारी चर्किंदै गएको छ । अध्यागमनमा अवैध तस्करीजस्तो अपराध संस्थागत रूपमा चलिरहेको अवस्थामा मन्त्रीको भूमिका झनै शंकाको घेरामा परेको हो ।
गृह मन्त्रालयको सिधा मातहतमा रहेको अध्यागमनमा भइरहेको गैरकानुनी कारोबारमा गृहमन्त्रीकै प्रत्यक्ष संलग्नता नदेखिएपनि अदृश्य संग्लनता रहेको अनुसन्धानले देखिएको अख्तियार स्रोतको भनाई छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा चलाइएको प्रणाली, असुलीमा संलग्न कर्मचारीको सरुवा, अनुसन्धान चलिरहेको अवस्थामा मन्त्रालय तान्ने कार्य र विवादित कर्मचारीलाई सचिवालयमा राख्ने कामले मन्त्रीको भूमिका शंकास्पद बनेको हो ।
नैतिकता राजनीति होइन, व्यवहार हो भन्ने सन्देश दिनुपर्ने बेला मन्त्री लेखक चुप छन् । अबको प्रश्न छ— गृहमन्त्री लेखकले पदको मोह त्यागेर छानबिनलाई सहज बनाउनेछन् कि नैतिकताको चिहानमाथि शासन गर्नेछन् ?
भिजिट भिसाका नाममा असुली गर्ने गिरोहविरुद्ध अख्तियारले अपरेसन चलाएर अध्यागमनका अधिकारीहरू पक्राउ गरिसकेको छ । तीमध्ये कतिपय व्यक्तिहरू पहिले पनि यस्तै असुली गिरोहमा रहेकाहरु अहिले गृहमन्त्रीकै सचिवालयमा कार्यरत छन् ।
विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपेका गणेश ओझा गृह मन्त्रालयमै छन् । अध्यागमन घोटालामा अदालतमा मुद्दा चलेका विमल पौडेल मन्त्री लेखककै सचिवालयमा कार्यरत छन् । मन्त्रालयमा रहेका कर्मचारीहरूमाथि छानबिन भइरहँदा मन्त्रीले ‘म संलग्न छैन’ भन्दै पन्छिन खोज्नुले नैतिकतामाथि प्रश्न उठाएको छ ।
विगतमा नैतिकताको उपदेश दिने आज किन मौन ?
गृह मन्त्रालयकै मापदण्डको आडमा अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिँदै लाखौं असुली गर्दै आएको अख्तियार स्रोतको दाबी छ । यस्तो संस्थागत गिरोहको संरक्षकत्व बिना यस्तो कारोबार सम्भव नभएको तर्कसहित विपक्षी मात्र होइन, कांग्रेसभित्रकै नेताहरूले नै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आवाज उठाएका छन् ।
कांग्रेस नेता डा. शेखर कोइरालाले भनेका छन्, “राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि, गृहमन्त्रीको संलग्नता नहोला तर मुद्दा उठिसकेको छ । आफू स्वच्छ छु भनेर देखाउन राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ ।”
तर मन्त्री लेखक भने संसदमा जवाफ दिने नाममा राजीनामाबाट पन्छिने रणनीतिमा छन् । राज्य सञ्चालकहरूको नैतिक धरातल मापन गर्ने बेला आएको छ । यिनै गृहमन्त्री लेखक थिए, जसले विगतमा ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई कुलमान घिसिङ प्रकरणमा मत बाझिएको भन्दै राजीनामा दिनुपर्छ भनेर दबाव दिएका थिए ।
आज लेखकमाथि नै संगीन आरोप लागिरहेका छन्, तब उनी आफू असंलग्न रहेको भन्दै राजनीतिबाटै सन्यास लिने तर्क गरेर पद छोड्न अस्वीकार गरिरहेका छन् ।
अब के गर्लान् गृहमन्त्री ?
गृहमन्त्रीमाथिको विवाद चुलिँदै गर्दा सत्तारूढ गठबन्धनको प्रमुख घटक एमालेको मौनता झनै संकास्पद बनेको छ । विपक्षीले सरकारमाथि ‘भ्रष्टाचारको संरक्षक’ बनेको आरोप लगाउँदै आएको छ ।
विगतमा भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणमाथि छानबिन सुरु भएपछि गठबन्धन नै भत्किएको थियो । आज पनि गृहमन्त्री लेखकमाथि आरोप लागिरहेको बेला कांग्रेस नेतृत्व मौन छ, एमाले बेखबर छ ।
विगतका कथन र वर्तमानका कर्मबीच गहिरो अन्तर देखिन थालेको छ । ‘राजीनामा’ भन्न सजिलो, तर व्यवहारमा आत्मस्वीकृति कति गाह्रो भन्ने आज रमेश लेखकले देखाएका छन् ।
नैतिकता राजनीति होइन, व्यवहार हो भन्ने सन्देश दिनुपर्ने बेला मन्त्री लेखक चुप छन् । अबको प्रश्न छ—गृहमन्त्री लेखकले पदको मोह त्यागेर छानबिनलाई सहज बनाउनेछन् कि नैतिकताको चिहानमाथि शासन गर्नेछन् ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो
गृहमन्त्रीले बोलाए विधेयक समितिको बैठक
गृहमन्त्रीद्धारा हज समितिको अध्यक्ष नियुक्त