एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डसँगको द्वन्द्व थप बढाएको छ । ट्रम्प प्रशासनले हार्वर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नदिने कदम चालेको बीबीसीले जनाएको छ ।
अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले एक्समा पोष्ट गर्दै प्रशासनले हार्वर्डले विद्यमान कानुन पालना गर्न असफल भएको बताएकी छन् । उनले विश्वविद्यालयको विद्यार्थी भर्ना र एक्सचेन्ज भिजिटर कार्यक्रम प्रमाणीकरण रद्द गरेको बताएकी छिन् ।
“यो देशभरिका सबै विश्वविद्यालय र शैक्षिक संस्थानहरूका लागि चेतावनी होस्,” उनले बिहीबार पोष्टमा लेखेकी छिन् । हार्वर्डले यो कदमलाई गैरकानुनी भनेको छ । “हामी १४० भन्दा बढी देशबाट आएका हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई आतिथ्य गर्ने क्षमता (अधिकार) कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौँ,” विश्वविद्यालयले विज्ञप्तिमार्फत जवाफ दिएको छ, “जसले यो विश्वविद्यालय र यो राष्ट्रलाई अतुलनीय रूपमा समृद्ध बनाउँन योगदान दिन्छ ।”
ट्रम्प प्रशासनको निर्णयले यो विश्वविद्यालयमा पढ्ने हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रभावित गर्नसक्ने बताइएको छ । “हामी हाम्रो समुदायका सदस्यहरूलाई मार्गदर्शन र समर्थन प्रदान गर्न छिटो काम गरिरहेका छौँ । यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्याउने चेतावनी दिएको छ,” हार्वडले भनेको छ, “हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई कमजोर बनाएको छ ।”
विश्वविद्यालयको तथ्यांकअनुसार गत शैक्षिक वर्षमा यो विश्वविद्यालयमा ६ हजार ७०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए । यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत थियो ।
ह्वाइट हाउसले हार्वर्डलाई विश्वविद्यालयमा यहूदीविरोधी भावना कम गर्न भर्ना र शिक्षण तरिकाहरूमा परिवर्तन गर्न माग गरेको छ । यसले विश्वविद्यालयको करमुक्त अवस्था रद्द गर्न र सरकारी अनुदानको अरबौँ डलर रकम फ्रिज गर्ने धम्की दिएको छ ।
हार्वर्डले यस वर्षको सुरुमा यहूदीविरोधी भावनालाई सम्बोधन गर्न धेरै कदमहरू चालेको तर सरकारको माग विश्वविद्यालयको बौद्धिक अवस्था नियमन गर्ने प्रयास भएको टिप्पणी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ जेठ २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ह्वाइट हाउसमा ट्रम्प र रामाफोसाबीच तीव्र बहस
ट्रम्पले भने– रूस र युक्रेनले तत्काल वार्ता सुरु गर्नेछन्
ट्रम्पले कतारमा अमेरिकी सैनिकहरूको भ्रमण गर्ने
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पले भने : 'यो दुःखद हो
आप्रवासीहरूलाई अफ्रिकी तथा युरोपेली देशहरूमा निष्कासन गर्ने ट्रम्पको योजना
चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प