काठमाडौँ । प्रतिनिधि सभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन विश्वव्यापी आह्वान गरेकी छन् । जेनेभामा बुधबार आयोजित विश्व स्वास्थ्य सङ्गठनसभाको संसदीय संवाद कार्यक्रममा उनले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन दृढताका साथ कानुन निर्माण गरी आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन् ।
अन्तर–संसदीय संघ(आइपियू)स्वास्थ्य समितिको सदस्यसमेत रहेकी सांसद गौतमले कानुन निर्माण र आवश्यक लगानीका क्षेत्रमा विश्वभरका सांसदहरूलाई एकजुट भई सहकार्य र समन्वय गर्न आह्वान गरिन् ।
“दृढताका साथ कानुन बनाऔँ, निर्भयतापूर्वक आवश्यक लगानी गरौँं र स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाका रूपमा संरक्षण गरौंँ”, उनले भनिन्, “सांसदहरू अब परिवेक्षक मात्र होइन, हामी उत्तरदायित्वको रक्षा, समताका पक्षधर र दूरगामी विकासका नेतृत्वकर्ता हौँ ।”
विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) र अन्तर–संसदीय संघ(आइपियू)को सहकार्यमा आयोजित उक्त संवाद कार्यक्रममा उनले हालै पारित भएको डब्लुएचओको महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पारिन् ।
“यो सम्झौताले महत्त्वपूर्ण कामको सुरुआत गरेको संकेत गर्दछ”, उनले भनिन्, “आगामी दिनमा महामारीको सम्भावना भएमा जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमा आदानप्रदान गर्नेदेखि न्यायोचित पहुँच सुनिश्चित गर्न पहुँच र लाभ साझेदारी प्रणालीमा संवाद र वार्ता गर्नुपर्नेछ ।” त्यसका लागि विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्ने उनको भनाइ छ ।
सांसद गौतमले सबै राष्ट्रहरूका संसद्बाट यो अनुमोदन हुनु आवश्यक रहेको बताइन् । उनले दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने संकेत दिएकोप्रति चिन्तासमेत व्यक्त गरिन् । “नेपाल जस्तो निम्न आय भएका देशमा यसको गम्भीर असर पर्छ । भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन । जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन”, उनले भनिन् ।
सांसद गौतमले संसद् कार्यपालिकालाई जबाफदेही बनाउने मुख्य अंक भएको भन्दै संसद्को सक्रियताबिना कुनै पनि प्रतिबद्धता प्रभावकारी नहुने बताइन् । उनले यस प्रकारको कार्यक्रमले संसद्लाई स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस भएको धारणा व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यायालयमा विधि बचाउने साझा जिम्मेवारी हो : सोबिता गौतम
सभापतिमाथि लगाएको मुद्दामा दम छैन: सोबिता गौतम
जडीबुटी प्रशोधन केन्द्र बस्तीबाट टाढा सार्न योजना बनाऔं : सोबिता गौतम
सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छः सोबिता गौतम
संसदीय इतिहासमा हिजो ‘कालो दिन’का रूपमा दर्ज भयो : सोबिता गौतम
पर्यटनमन्त्रीलाई सोविताको प्रश्न - नेपाल एयरलाइन्स सुधारमा के के काम भयो ?