काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) भित्र विवाद भएको छ । सहअध्यक्ष गंगानारायण श्रेष्ठ लगायत माओवादी पृष्ठभूमिका नेताहरूले पार्टी एकताबारे निर्णय लिन जेठ ११ गते केन्द्रीय समितिको छुट्टै बैठक बोलाएपछि विवाद भएको हो ।
यादव समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेसपाको नाममा बोलाइएको केन्द्रीय समिति बैठक आधिकारिक नभएको जिकिर गरेको छ । साथै माओवादीसँग रुपान्तरणसहित एकता गर्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेष्ठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबिच एकताको सन्दर्भमा रूपान्तरण सहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु’, विज्ञप्तिमा भनिएको छ ।
यद्यपि पार्टीभित्र कुनै विवाद नभएका दुवै पक्षले दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै सहअध्यक्ष श्रेष्ठले सिङ्गो पार्टी नै एकता गर्ने गरी तयारी भइरहेको जिकिर गरे । ‘जेठ १२ गते एकताको विषयमा टुङ्गो लगाउने गरी केन्द्रीय समिति बैठक बोलाइएको हो । ढिलोमा जेठ मसान्तसम्म एकता गर्ने केन्द्रीय कार्यकारिणी बैठकले निर्णय गरिसकेको छ’, उनले भने ।
माओवादी पृष्ठभूमि र गैरमाओवादी पृष्ठभूमि भनेर पार्टी विभाजनको रेखा नकोरिएको भन्दै श्रेष्ठले अध्यक्ष यादवसहित सिङ्गो पार्टी नै एकताका लागि तयारी गरिरहेको बताए । यता महासचिव रमेशप्रसाद यादवले पार्टी एकताको विषय माओवादीका अध्यक्ष प्रचण्ड काठमाडौँ फर्केर आएपछि टुङ्गो लाग्ने स्पष्ट पारे । माओवादीसँग पार्टी एकताका लागि हामीबिच कुने विवाद नभएको उनले दाबी गरे ।
‘माओवादीसँग पार्टी एकता गर्ने कुरा हामीले १५ महिना अगाडि नै टुङ्ग्याएको विषय हो । गंगाजी अलि हतार गरिरहनुभएको छ । रूपान्तरणसहित एकता गरौँ भनेर हामीले भनिराखेका छौँ । प्रचण्डजी काठमाडौँ आउनुभएपछि छलफल गर्छौं’, उनले भने ।
नेसपाका तत्कालीन अध्यक्ष बाबुराम भट्टराई सहित माओवादीसँग पार्टी एकता गर्ने विषयमा विवाद हुँदा २०८० चैत ३ गते पार्टी विभाजन भएको थियो । विभाजनपछि अर्का अध्यक्ष यादवको नेतृत्वमा नेसपा पुनर्गठन भएको थियो । नेसपामा अहिले १७० केन्द्रीय समिति र २७ सदस्य केन्द्रीय कार्यकारिणी समिति रहेको महासचिव यादवले जानकारी दिएका छन् । एकताको विषय टुङ्ग्याउन जेठ ११ गते अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ सहितका नेताहरूले प्रचण्डसँग छलफल गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी विद्रोहपछिको राजनीतिक कार्यदिशा तय गर्न नेसपाको विशेष बैठक बस्दै
पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेशन सिन्दूर’लाई नेसपाले गर्उयो समर्थन
नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा