ह्वाइट हाउसमा ट्रम्प र रामाफोसाबीच तीव्र बहस

एजेन्सी

विहीबार, ०८ जेठ २०८२, ०८ : ०८
ह्वाइट हाउसमा ट्रम्प र रामाफोसाबीच तीव्र बहस

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच ह्वाइट हाउसमा भएको भेटका क्रममा सार्वजनिक रूपमा तीव्र बहस भएको छ। 

ओभल अफिसमा मिडियाको अगाडि भएको उक्त बहस दक्षिण अफ्रिकामा गोरा किसानहरूमाथि भएको भनिएको आक्रमण र हिंसासम्बन्धी ट्रम्पका दाबीलाई लिएर चर्किएको हो।

राष्ट्रपति ट्रम्पले बैठकका क्रममा दक्षिण अफ्रिकामा गोरा किसानहरूलाई "निशानामा पारिएको" भन्दै नरसंहारको आरोप लगाए। उनले प्रमाणका रूपमा एउटा भिडियोसमेत देखाउँदै ती किसानहरू अमेरिका तर्फ शरण खोज्दै आएको दाबी गरे। ट्रम्पले रामाफोसालाई यस विषयमा "गम्भीर कदम चाल्नुपर्ने" चेतावनी पनि दिए।

तर राष्ट्रपति रामाफोसाले ट्रम्पका दाबीहरूलाई स्पष्ट रूपमा खारेज गरे। उनले भने, “दक्षिण अफ्रिकामा सबै जातिका नागरिकहरू हिंसात्मक अपराधको शिकार बनिरहेका छन्। तीमध्ये धेरैजसो काला छन्। गोरा मात्र पीडित होइनन्।” उनले ट्रम्पलाई तथ्यमा आधारित भएर टिप्पणी गर्न आग्रह गरे।

बैठकको क्रममा रामाफोसाले कतार सरकारले ट्रम्पलाई दिएको विमान उपहारको पनि आलोचना गरे। व्यंग्य गर्दै उनले भने, “हाम्रो सरकार अझै रंगभेद अन्त्य गर्न संघर्षरत छ। मलाई माफ गर्नुहोस्, मसँग तपाईंलाई दिनको लागि विमान छैन।” यसको जवाफमा ट्रम्पले पनि झट्टै प्रतिक्रिया दिँदै भने, “काश तपाईंकोसँग भएको भए, म अवश्य लिन्थें।”

यसप्रकारको दोहोरी संवादले दुई देशका नेताहरूबीचको कूटनीतिक सम्बन्धमा असहजता देखाएको छ। विश्लेषकहरूले यसलाई "राजनीतिक मतभेदको सार्वजनिक प्रदर्शन" भन्दै मूल्यांकन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस