पोखरा । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा भएको घटनामा संलग्न विरुद्ध जाहेरी दर्ता भएको छ । ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको भन्दै ४ जना विरुद्ध जाहेरी परेको थियो । प्रहरीले यसबारे आनाकानी गर्दै आएकामा हाल आएर जाहेरी दर्ता गरेको हो ।
घटनामा संलग्नहरू उपर जाहेरी परेको र दर्ता भैसकेको लमजुङ प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए । ‘जाहेरी दर्ता भएको छ । तर कोहीपनि पक्राउ परेका छैनन्,’ उनले बुधवार भने, ‘खोजी भइरहेको छ । जाहेरी परेपछि मुद्दाको रूपमा अघि बढ्छ ।
पीडितका तर्फबाट परेको जाहेरीका आधारमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता भएको लमजुङ प्रहरीले जनाएको छ ।
घटनामा खुकुरी प्रहारबाट ४ जना घाइते भएका थिए । घटनामा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा घाइते भएका हुन् ।घाइतेमध्ये खुसीजंग र सुदीपलाई थप उपचारका लागि चितवन रिफर गरिएको थियो । अधिवेशनमा प्रतिनिधि छनोटबाटै एउटा पक्षलाई रोक्ने प्रयास गरिएको भन्दै संस्थापन इतर पक्षले कार्यक्रमस्थलमा नाराबाजी गरेका थिए । नाराबाजी चलेपछि संस्थापन पक्षले खुकुरी प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।
लमजुङमा प्रदेशका दुईजना मन्त्रीबीच टकराव छ । जिल्ला सभापति तथा आर्थिक मामिला मन्त्री टकराज गुरुङ र निवर्तमान सभापति तथा वन मन्त्री भेषबहादुर पौडेलले लामो समयदेखि गुटको रूपमा पार्टीलाई विभाजन गरेका छन् । घटनापछि अधिवेसन १० गतेसम्मका लागि स्थगित गरिएको छ ।
तरुण दलको तल्लो समितिमा निर्वाचन हुँदादेखि नै विवाद चुलिँदै आएको थियो । क्होंलासोंथरको अधिवेशनमा माइन्युट च्यात्नेदेखि महोत्सवमा एक पक्षले अर्को पक्षलाई कुट्नेसम्मका गतिविधि भएको लमजुङ काँग्रेसका एक नेताले बताए ।
‘भित्रभित्रै पाकिरहेको थियो । शनिबारको घटना पोखिएको मात्रै हो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तरुण दलको महाधिवेशन कार्यतालिका सार्वजनिक
तरुण दलको लमजुङ अधिवेशनमा झडप, खुकुरी प्रहारबाट चारजना घाइते
तरुण दलको भेला स्थगित
तरुण दलको भेला स्थगित
तरुण दलले बोलायो केन्द्रीय कार्यसमिति बैठक