जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताएका छन् ।
अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले मंगलबार जाजरकोटको भेरी नगरपालिकामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरेको हो।
कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले जाजरकोटमा भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढेको बताए। गाउँ–गाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।
प्रदेश सरकार कमजोर भएको र जनतामा यसको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै वक्ताहरूले सङ्घीयताको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।
प्रश्नहरू सुनेपछि जवाफ दिँदै अध्यक्ष प्रचण्डले जनताको सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए। “तपाईँहरूले उठाएका प्रश्नहरू ग्रहणयोग्य छन्, सुझावहरू महत्त्वपूर्ण छन्,” उनले भने, “हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने तरिकाबाट अभियानमा होमिएका छौँ।”
उनले आफू प्रधानमन्त्री रहेका बेला भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारका काम सुरु गरिएको बताए। “मैले त्यतिबेला तत्कालै बजेट पनि छुट्टाएको थिएँ,” उनले भने, “तर त्योअनुसार काम हुन नसक्नु दुःखद कुरा हो। अहिले पुनःस्थापनाको काममा गति दिनुपर्छ भन्ने मागलाई म सरकारले ध्यानमा राख्न आग्रह गर्छु।”
कम्युनिस्ट एकताको सन्दर्भ उठेकोमा अध्यक्ष प्रचण्डले आफू नै कम्युनिस्ट एकताको प्रस्तावक भएको बताए। “मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ,” उनले भने, “तर त्यो एकता किन टुट्यो ? त्यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन। हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ।”
अध्यक्ष प्रचण्डले सङ्घीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै सङ्घीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गरे। “संविधान कार्यान्वयनका लागि म प्रधानमन्त्री हुँदा प्रदेश समन्वय बैठक बसेको थियो,” उनले भने, “कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक र उच्च शिक्षा सुधारका लागि तयारी गरिएको थियो, ती काम अघि बढ्नुपर्छ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड