रुस–युक्रेन वार्ताबाट खासै आश छैन : अमेरिकी विदेशमन्त्री

एजेन्सी

शुक्रबार, ०२ जेठ २०८२, १२ : १३
रुस–युक्रेन वार्ताबाट खासै आश छैन : अमेरिकी विदेशमन्त्री

इस्तानबुल । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले टर्कीमा युक्रेन र रुसबिचको शान्ति वार्ताबाट आफूलाई धेरै आशा नभएको बताएका छन् ।  वार्ता सफल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिलेर कुरा गर्नुपर्ने पनि समेत उनले बताए । 

टर्कीमा विदेशमन्त्री मार्काे रुबियोले नेटो बैठकको छेउमा युरोपेली विदेश मन्त्रीहरूसँग भेट गरेका थिए । बैठकपछि उनले भने– ‘राष्ट्रपति ट्रम्प र पुटिनले यस विषयमा प्रत्यक्ष छलफल नगरेसम्म, मलाई लाग्दैन कि हामी यसमा कुनै सफलता हासिल गर्न सक्षम हुनेछौ ।’ 
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टर्कीमा पुटिनको सामना गर्न तयार रहेको बताएका थिए । तर युक्रेनबाट जेलेन्स्की आउने बताइसक्दा पनि रुसबाट भने पुटिन आएनन् । 

उनले तल्लो स्तरको प्रतिनिधिमण्डल पठाए । यसको जेलेन्स्कीले आलोचना गरेका छन् । यसअघि जेलेन्स्कीले यदि पुटिन वार्तामा उपस्थित भएमा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताएका थिए । युक्रेनसँग प्रत्यक्ष शान्ति वार्ताको प्रस्ताव पुटिनले नै गरेका थिए । 

प्रतिक्रिया दिनुहोस