काठमाडौं । भारतको पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग राख्दै पृथकवादी गतिविधि गर्दै आएको समूहको एक महत्त्वपूर्ण सदस्य पक्राउ परेका छन् ।
नेपालमा लुक्दै आएका भनिएका बलवीर सिंह भनिने कश्मिर सिंहलाई भारतको राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले मोतिहार प्रहरीसँग चलाएको संयुक्त अपरेशनका क्रममा पक्राउ गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
भारतीय प्रहरीले उनलाई मोतिहारीको नगर थाना क्षेत्रको मोतिझिलबाट पक्राउ गरेको जनाएको छ । तर, कतिपय सुरक्षा अधिकृतहरूले भने सिंहलाई नेपालबाट पक्राउ गरेर लगिएको दाबी गरेका छन् ।
सिंहको खोजीका लागि भारतीय सुरक्षा अधिकृतहरूले यसअघि नेपाल प्रहरीका अधिकृतहरुसँग समन्वय समेत गरेको स्रोतको भनाइ छ ।
प्रहरीका अनुसार, खालितस्तानको लिबरेसन फोर्ससँगै अन्तर्राष्ट्रिय शिख युथ फेडरेसनसँग जोडिएका उनले अपराधिक गतिविधिमा संलग्न अरुलाई समेत नेपालमा सेल्टर दिने गरेको आरोप थियो ।
उनले नेपालमा नागरिकता समेत लिइसकेको भारतीय प्रहरीको दाबी थियो । उनलाई पक्राउ गरेर भारतमा सार्वजनिक गरिएपछि प्रहरी प्रधान कार्यालयको एउटा टोलीले त्यसबारे अध्ययन समेत गरिरहेको छ ।
एक अधिकृत भने, ‘हिजोआज व्यक्तिगत स्तरमा समन्वयका आधारमा समेत अपराधीहरु लगिने गरेका छन्, यसमा के भएको भन्ने बुझिरहेका छौं ।’
को हुन् सिंह ?
उनी २७ नोभेम्बर २०१६ को नाभा जेल ब्रेक काण्डमा समेत जोडिएका व्यक्ति हुन् ।पटियालास्थित नाभा जेलमा भएको आक्रमणमा ६ जना आतंकवादी र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू फरार भएका थिए ।
रमनजीत सिंह उर्फ रोमीको मुख्य योजनामा भएको आक्रमणमा बलवीर सिंहसहित खालिस्तानी लिबरेशन फोर्सका प्रमुख हरमिन्दर सिंह मिंटू लगायतका व्यक्तिहरू जेलबाट भागेका थिए ।
पछि अनुसन्धानका क्रममा जेलमा रहेका कुख्यात अपराधी गुरुप्रित सिंहको योजनामा जेल ब्रेक गराइएको खुलेको थियो । त्यसबेला खाना बाँड्ने बहानामा जेल नजिक पुगेका व्यक्तिहरूले त्यहाँ हमला गरेर सबैलाई भगाएका थिए ।
एनआईएले सिंह पञ्जाबको मोहालीमा रहेको इन्टेलिजेन्स कार्यालयमा भएको रकेट आक्रमणमा समेत संलग्न रहेको भनेको छ । उनीबारे सूचना दिनेलाई भारतीय प्रहरीले १० लाख रुपैयाँ इनामको समेत घोषणा गरेको थियो ।
नेपाल प्रहरीका प्रवक्ता रमेश थापा भने सिंहलाई नेपालबाट पक्राउ गरिएकोबारे जानकारी नभएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ