काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावका बीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना गर्ने बताएको छ।
अब पीएसएलका अन्तिम आठ खेलहरू युएईमा हुने भएको छ । भारत र पाकिस्तानका बीचमा मिसाइल आक्रमण हुने र दुई देशवीच द्वन्द बढ्न थालेपछि पाकिस्तान सुपर लिगका खेल तालिका संशोधन भएको हो । जुन खेल पहिले रावलपिंडी, मुल्तान र लाहोरमा आयोजना हुने गरी कार्यतालिका बनेको थियो ।
पीसीबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार खेलको तालिका, मिति र स्थान सोही समयमा घोषणा गरिनेछ।
बिहीबार रावलपिंडी क्रिकेट रंगशालामा हुने तय भएको पीएसएल खेल रद्द गरिएको थियो । पाकिस्तानी सेनाले रावलपिंडी क्रिकेट रंगशाला नजिकैको फूड स्ट्रिटमा भारतीय ड्रोन खसालेको दाबी गरेको थियो।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेका छन्।
नकवीले भनेका छन्, -'भारतको सम्भावित आक्रमणबाट हाम्रा घरेलु र विदेशी पाहुना क्रिकेटरहरूलाई जोगाउन पीसीबीले बाँकी खेलहरू युएईमा सार्ने निर्णय गरेको छ।'
मोहसिन नकवीले भने - 'पीसीबी लिगको निरन्तर वृद्धि सुनिश्चित गर्न प्रतिबद्ध छ।' यसअघि भारतमा पनि मे ८ मा हिमाचल प्रदेशको धर्मशालामा खेलिएको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल बीचैमा रद्द गरिएको थियो।
यो खेल पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेलिरहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, ०७ : ५१
लेखकबाट थप