बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु

सफल खबर संवाददाता

आइतबार, २१ बैशाख २०८२, १० : २६
बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु

काभ्रे । २०८१ साल असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोपीडितलाई अस्थायी आवास निर्माणका लागि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट अनुदान वितरण थालिएको छ । सात महिनाभन्दा बढी समयपछि पीडितका बैंक खातामा रकम पठाउन थालिएको हो ।

रोशी गाउँपालिकाले ५४८ पीडित परिवारका लागि लागि अस्थायी आवास निर्माणार्थ पहिलो किस्तावापतको रकम निकासा सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गाउँपालिकाको खातामा सङ्घीय सरकारबाट अनुदान रकम आएपछि बाढीपहिरो पीडितका लागि पहिलो किस्तावापतको २५ हजार रुपैयाँ सम्बन्धित लाभग्राहीको खातामा निकासा गर्ने काम भइरहेको बताए ।

उनले पीडितलाई बैंक खाता खोल्न बाँकी तथा अन्य समस्या भएमा सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकाको विपद हेल्प डेस्कमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

बाढीपहिरोबाट अतिप्रभावित बेथानचोक गाउँपालिकाले आउँदो सातादेखि अस्थायी राहत रकम वितरण गर्ने भएको छ । अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाको खातामा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट रकम निकासा भइसकेकाले वितरणको तयारी भइरहेको बताए ।

जिल्लामै जनधनको बढी क्षति पुगेको पनौती नगरपालिकामा पनि पीडित परिवारलाई रकम दिने तयारी छ । ‘जिल्लाबाट साताअघि नगरको खाता नम्बर मागिएको थियो, अनुदान आएपछि सम्बन्धित पीडितपरिवारको खातामा जम्मा गछौँँ’, नगरप्रमुख रामशरण भण्डारीले भने। उनका अनुसार नगरबाट ६ सय ३४ पीडित परिवारका लागि अनुदान माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सरकारमार्फत प्राधिकरणबाट प्राप्त अनुदान बाढीपहिरोबाट पीडितलाई अस्थायी आवास निर्माणका लागि १० स्थानीय तहमा वितरण गरिरहेको जनाएको छ । जिल्लाको १० तहका दुई हजार ८९५ परिवारका लागि पहिलो किस्तावापत २५ हजारका दरले राहत उपलब्ध गराउन यही वैशाख पहिलो सातादेखि रकम निकासा सुरु गरेको थियो । उल्लेखित प्रभावित परिवारका लागि उपलब्ध गराइने ५० हजार राहत रकममध्ये पहिलो किस्तास्वरुप २५ हजार उपलब्ध गराउन लागिएको हो ।