काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएकी छिन् । साथै, उनले सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको तर्क पनि गरिन् ।
कास्कीको रुपा गाउँपालिकाको कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।आफूहरू नेतृत्वको ढाकछोप गर्ने पुस्ता नभएको जानकारी गराउँदै आफू सचेत नागरिक र कानुनको विद्यार्थी भएर सभापति लामिछानेको मुद्दाबारे टिप्पणी गरेको बताइन् ।
‘हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन, त्यहाँ टालटुल गरेर मुद्दा बनाइएको छ,’ उनले भनिन् ।
न्यायालयले सभापति लामिछानेलाई न्याय दिने विश्वास आफूले राखेको उनले बताइन् ।‘न्यायालयले रवि लामिछानेलाई पक्कै न्याय दिनेछ । किनभने उहाँ नेपाली जनताले आशा र विश्वास गरेको पात्र हो,’ सांसद गौतमले भनिन् ।
आफ्नो पार्टीले उठाएका विषयलाई वर्तमान सरकारले दबाउने काम गरिरहेको उनको भनाइ थियो ।‘रास्वपाले उठाएको मुद्दा दबाउने काम यो सरकारले गरिरहेको छ । हिजोको दिनमा भ्रष्टाचार भएको कुराहरू सुन्न पाइँदैन थियो । तर, अहिले रास्वपा चौथो ठूलो दल हो । अब अझै हामीले जनताको विश्वास जित्न बाँकी नै छ,’ उनले भनिन्, ‘रास्वपा आएपछि भ्रष्टाचार भएको कुरा थाहा भयो । पोखरा विमानस्थलमा १४ अर्बको भ्रष्टाचार भएको छ भन्ने थाहा भएको छ । वाइडबडी र गिरिबन्धुमा भएको भ्रष्टाचार, संसदीय छानबिन समितिको नजिर बसालिहालियो अब ढाकछोप गर्ने प्रयास भएको छ । भुटानी शरणार्थी फाइल खुलिसकेको थियो, फेरि पनि हामीले गरिसक्यौं, अब छाडिंदैन भनेर त्यसलाई दबाउने काम हुँदैछ ।’
अहिलेको सरकार बनेको १० महिना पुग्दा पनि प्रत्येक दिन विभिन्न विवादित मुद्दा र घोटला मात्रै आइरहेको उनले बताइन् । उनले देशभर निराशा नै निराशा भइरहेको बताइन् । ‘यो सरकारले काम गर्न सकिरहेको छैन । यो सरकार सच्चियोस्,’ उनले भनेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जडीबुटी प्रशोधन केन्द्र बस्तीबाट टाढा सार्न योजना बनाऔं : सोबिता गौतम
सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छः सोबिता गौतम
संसदीय इतिहासमा हिजो ‘कालो दिन’का रूपमा दर्ज भयो : सोबिता गौतम
पर्यटनमन्त्रीलाई सोविताको प्रश्न - नेपाल एयरलाइन्स सुधारमा के के काम भयो ?