नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल

सफल खबर संवाददाता

शनिबार, २० बैशाख २०८२, १५ : २८
नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दुइटा हात्ती जस्ता पार्टीहरु मिलेर सरकार बनेको भए पनि केही काम गर्न नसकेको टिप्पणी गरेका छन् । पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै उनले भने, ‘दुइटा हात्ती जस्ता पार्टीहरु सरकारमा छन्, तर काम चाहिँ मुसाले जस्तो पनि गर्न सकेका छैनन् । यो प्रकारको परिस्थिति छ आज ।’

देश राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले पनि संकटग्रत रहेको उनले बताए ।नेता खनालले थपे, ‘राष्ट्रियता पनि संकटग्रस्त छ, देशका अनेक भागहरुमा बाहिरबाट अनेक ढंगले घोप्ने कामहरु भइरहेको छ । महाकालीको सिमानामा घोप्दैछन् । अनेक ठाउँमा यस्ता कुराहरु भइरहेका छन्, तर यो सरकार कानमा ठेडी राखेर बसिराखेको छ। चाइँचुईं केही गर्दैन, बरु मुसा चाइँचुईं गर्छ । यस्तो अवस्थाबाट देश गइरहेको छ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको हितमा केही नभएको बताए । उनले भने, ‘न भूमिसुधारको कुरा न त कृषि क्रान्तिको कुरा छ । जनताले चाहेको केही छैन । परम्परागत खालको मात्रै छ ।’

नेता खनालले सबै शिक्षक, सहकारी र लघुवित्त पीडितहरुको पनि माग सम्बोधन गर्न सरकारले नसकेको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस