किट विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु प्रकरण, परराष्ट्र मन्त्रालयद्वारा छानविनका लागि कूटनीतिक पहल

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, ०७ : ४९
किट विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु प्रकरण, परराष्ट्र मन्त्रालयद्वारा छानविनका लागि कूटनीतिक पहल

काठमाडौ । भारतको ओडिसा राज्यमा अवस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी छन्। 

घटनापछि सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री आरजु राणा देउवाले गहिरो समवेदना प्रकट गर्दै फेसबुकमा लेखेकी छन्, "प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।"

उनले मन्त्रालयले भारत सरकार, ओडिसा राज्य सरकारका उच्च अधिकारीहरूसँग समन्वय गर्दै घटनाको सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल सुरु भएको बताइन् । मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत समेत आवश्यक कानुनी प्रक्रिया र अनुसन्धानका लागि समन्वय भइरहेको जनाएको छ।

प्रिसा साहको मृत्युको कारण अझै खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानमा प्रहरी सक्रिय रहेको जनाइएको छ। मृतक छात्रा नेपालबाट उच्च शिक्षाको लागि भारत गएकी थिइन्।

नेपाली समुदायले घटनाको गम्भीर छानबिनको माग गर्दै दोषी पाइए कडा कारबाहीको अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस